हिमालको फेदीमा रहेकोे भुजुङ्गे बराह ताल प्रचार प्रसारको अभाबले ओझेलमा (फोटो फिचर)

  • २ आश्विन २०७९, आईतवार
  • कमल खत्री
  • 875 पटक पढिएको

बेनी २ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराह ताल ओझेलमा परेको छ । समुद्री सतहदेखि करिब चार हाजर चार सय मिटर उचाईमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहेपनि प्रचार प्रसारको अभाबले ओझेलमा परेको हो ।


दिउँद र बर्षायाम संधै सदाबहार पानी नसुक्ने ताल अत्यन्तै आकर्षक रहेको छ । निलो रंगमा सुन्दर, शान्त र मनोरम देखिने यस तालको दृष्यले यहाँ पुग्ने पर्यटकहरुलाई लोभ्याउने गरेको छ । गुर्जादेखि चुरेन र पुथा हिमालको आधार शिविर जाने पदमार्गमै पर्ने भएपनि आबश्यक मात्रामा प्रचार प्रसार नभएकाले यहाँको महिमा उजागर हुन नसकेको स्थानीय युवा टुकप्रसाद छन्त्यालले बताउनुभयो ।
‘‘यो अहिलेसम्म लुकेको छ, यहाँको सम्भावनालाई बाहिर ल्याउन सके गुर्जा आउने जो कोही पनि यो तालसम्म पुग्न सक्छन्, यस पटक हामीले यस क्षेत्रको पर्यटकीय सम्भावना उजारमा टेवा पु¥याउने गरि लघुकथाको दृष्य समेत यसै क्षेत्रमा पुगेर छायांकन गरेका छौँ’’–उहाँले भन्नुभयो ।
गुर्जा गाउँदेखि यस तालमा पुग्न करिब ८ घण्टा र तालबाट आधार शिविर पुग्न तीन घण्टा पैदलयात्रा गर्नुपर्छ । चुरेन र पुथा हिमालको आधार शिविर पुग्ने पदमार्ग सञ्चालनमा आएसंगै आधार शिविर पुग्ने विदेशी पर्यटकहरु तालमा जाने गरेपनि उल्लेख्य मात्रामा पर्यटकहरु यस क्षेत्रमा भित्रिन नसकेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
उहाँले बिगत दुई बर्षमा गाउँपालिका मार्फत पहिलो बर्ष रु ७ लाख र दोस्रो बर्ष रु ११ लाख बजेट विनियोजन गरेर गुर्जादेखि तालसम्मको पदमार्ग निर्माण भएको समेत जानकारी दिनुभयो । ‘‘ तालसम्म पुग्न कुनै कठिनाई नै छैन, गुर्जा आइपुग्ने जो कोहि पर्यटक सजिलै पुग्न सक्छन, त्यहाँबाट आधार शिविर पुग्ने पदमार्गलाई थप स्तरीय बनाउनका लागि पालिका लगायत अन्य निकाय मार्फत बजेट व्यवस्थापनको लागि पहल गरेका छौँ’’–अध्यक्ष छन्त्यालले भन्नुभयो ।
भुजुङ्गे बराह ताल करिब ६ सय मिटर लाम्बाइ र साढे २ सय मिटर चौडाइ भएको क्षेत्रफलमा रहेको अनुमान छ । यस बराह तालमा जनैपूर्णिमाको अवसरमा भेडिगोठालाहरुले पुजाआजा गर्दै आएका छन् । म्याग्दीमा सडक सञ्जालले नडिएको एक मात्रै वडा गुर्जामा पुग्न धवलागिरि गाउँपालिकाको वडा नम्बर २ लुलाङदेखि एक दिनको पैदलयात्रा गर्नुपर्छ । तस्बिर सौजन्य : टुकचन

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l