भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

  • ३१ भाद्र २०७९, शुक्रबार
  • 455 पटक पढिएको

काठमाडौं ३१ भदौ । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् ।


पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी–बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल गरेकी थिइन् । मैदानको आफ्नै भागबाट आएको लङ पासमा उत्कृष्ट ड्रिबलिङ गर्दै प्रिति राईले रश्मीलाई पास उपलब्ध गराएकी थिइन् । खेलको सुरुवातमा भारतले दबाब बनाएपनि त्यसपछि नेपाल आक्रामक देखिएको थियो। दोस्रो हाफको सुरुवातमै भारतीय गोलरक्षकले लगातार उत्कृष्ट बचाउ गरिन् ।

५० औँ मिनेटमा अनिता जैँसीको उत्कृष्ट हेडरलाई भारतीय गोलरक्षकले गोल लाइनबाट जम्प गर्दै क्लियर गरिदिएकी थिइन् । एक मिनेटलगत्तै रश्मि घिसिङको प्रहारलाई पनि भारतीय गोलरक्षकले विफल बनाएकी थिइन् । ६५ औँ मिनेटमा प्रिति राईले डी–बक्सबाट गरेको प्रहार साइड बारको नजिकैबाट बाहिरिएको थियो । ८३ औँ मिनेटमा नेपालकी कप्तानसमेत रहेकी गोलरक्षक एन्जिला तुम्बाहाम्पो लिम्बुले शानदार बचाउ गर्दै नेपालको संकट टारेकी थिइन् । नेपाल यो खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारीबिना नै उत्रिएको थियो । बिरामी भएका कारण सावित्रा सुरुवाती–११ मा थिइनन् । उनको स्थानमा सुरुबाटै खेल्ने मौका पाएकी प्रितीले शानदार प्रदर्शन गरिन् ।

नेपालले साफ महिला च्याम्पियनसिपमा भारतलाई पहिलोपटक हराएको हो। यसअघि सम्पन्न पाँच संस्करणमध्ये चारवटामा फाइनल पुगेपनि नेपाललाई भारतले ती सबैमा निराश बनाएको थियो । नेपाल अर्को एक संस्करणमा भारतसँग पराजित भएर सेमिफाइनलबाट बाहिरिएको थियो। नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलले हराउँदै बंगलादेश फाइनल पुगेको हो। प्रतियोगिताको फाइनल आगामी सोमबार दशरथ रंगशालामा हुने छ।