धवलागिरि गाउँपालिकामा दर्जन बढी जलविद्युत् आयोजना निर्माण चरणमा

  • ३१ भाद्र २०७९, शुक्रबार
  • 527 पटक पढिएको

बेनी, ३१ भदौ। म्याग्दीको धवलागिरि गाउँपालिकामा दर्जनबढी जलविद्युत् अयोजना निर्माण हुने भएका छन् । धौलागिरि हिमालको फेदी भएरबग्ने म्याग्दी र यसका सहायक खोलाहरुमा १३ वटा जलविद्युत् आयोजनाले निर्माण प्रकृया थालेका छन् । अधिकाँश जलविद्युत आयोजना वडा नम्बर ४ मुदीमा निर्माण हुने भएका छन् ।
अहिलेसम्म दर्ता भएका जलविद्युत आयोजनाहरु निर्माण भएमा धवलागिरि गाउँपालिकामा मात्रै कुल २३८ मेगावाट क्षमता जलविद्युत् उत्पादन हुनेछ । दर्ता भएकामध्ये केहि जलविद्युत आयोजनाहरुले पहुँचमार्ग र सर्वेक्षण लगायतका काम अघि बढाएको पाइएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।


‘‘ अहिले दर्ता भएर निर्माण प्रकृयामा अघि बढेका जलविद्युत आयोजनाहरु निर्माण भएमा यसले समग्र गाउँपालिकाको विकास र समृद्धी संगै स्थानीयबासीको जिवनस्तर सुधारमा टेवा पु¥याउनेछ, यहाँ दर्ता भएर हाम्रो सम्पर्कमा आउने निर्माण कम्पनीहरुलाई स्थानीय स्तरमा सहजीकरणको काम गर्नेछौ, विना अवरोध आयोजनाहरुलाई अघि बढाउन गाउँपालिकाले रचनात्मक भूमिका खेल्छ’’–अध्यक्ष पुनले भन्नुभयो ।

धवलागिरि गाउँपालिका–४, मुदीको जेल्टुङमा ३७ मेगावाटको अपर म्याग्दी र मुदीकै दोभानमा निर्माण हुने ५७ मेगावाट क्षमताको म्याग्दी हाइड्रोपावरको पहुँच मार्ग निर्माण सुरु भएको छ । यि जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडकको ट्याक निर्माण गरिसकेका छन् । मुदीमा निर्माण हुने ३७ मेगावाट क्षमताको अप्पर म्याग्दी जलविद्युत् आयोजना निर्माण गर्न लागेको हाइड्रो इम्पायर प्रालिका अध्यक्ष जितबहादुर घर्तीले आयोजना स्थलसम्म पुग्ने सडकको पहुँच मार्ग निर्माण सकेपछि आवास, सुरुङ, विद्युतगृह, लगायतको काम सुरु गर्ने तयारी गरिएको जानकारी दिनुभयो । यस आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाउन थालेको छ ।

धवलागिरिमा ५३ मेगावाट क्षमताको अप्पर म्याग्दी पहिलो, १४ मेगावाट क्षमताको मुदीखोला र ५७ दशमलव ३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति पाएका छन् । त्यसैगरि वडा नम्बर ४ मुदीमा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले २३.७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र वडा नम्बर –१, गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेको जनाइएको छ । एभरेस्ट इनर्जी एन्ड इन्फ्रास्ट्रक्चर प्रालिले मुदीमा १४ मेगावाट क्षमताको मुदीखोला निर्माणको अनुमति पाएको छ । सुसमित हाइड्रोपावर लिमिटेडले २० मेगावाट क्षमताको कुनाबन खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ ।

यसैगरी दरखोला हाइड्रोपावर लिमिटेडले ६.५ मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, मुदीमा सिम्कोस हाइड्रोपावर लिमिटेडले मुदीमा ३.४५ मेगावाट क्षमताको सिम्कोस जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले १२.७३ मेगावाट क्षमताको अप्पर मुदी र सुसमित इनर्जीले ९.५ मेगावाट क्षमताको म्याग्दीखोला ‘बी’ जलविद्युत् आयोजना र प्रकाश जोशीले मुदीमा ४.६ मेगावाट क्षमताको तिरिजा खोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति पाएका छन् ।

म्याग्दी खोला र यसका सहायक नदीहरुमा निर्माणधिन जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रशारणमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७, डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेसन निर्माण सुरु गरेको छ । डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३, अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा बन्ने सबस्टेसन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि प्राधिकरणले पूर्वाधार निर्माणको काम अघि बढाएको छ । प्राधिकरणले सबस्टेसन तथा प्रसारण लाइन निर्माण थालेसंगै लगानीकर्ता र दर्ता गरि अनुमती लिएका कम्पनीहरुले जलविद्युत् आयोजनाहरुको निर्माणमा सक्रियता बढाएका छन् ।