मालिकामा कानुन विपरित उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलामी गर्ने

  • ३० भाद्र २०७९, बिहीबार
  • 439 पटक पढिएको

म्याग्दी, ३० भदौ । मालिका गाउँपालिकाले म्याग्दी नदीबाट अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलाम बिक्री प्रक्रिया अघि बढाएको छ। विभिन्न ब्यक्ति र समुहले कानुन विपरित म्याग्दी नदी, भारवाङ घाट, सावटा लगायतका स्थानमा थुपारिएको नदीजन्य बस्तुको गाउँपालिका अनुगमन समितिकी संयोजक लक्ष्मीदेवी घर्ती मगर पुनको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका टोलीबाट अनुगमन गरिएको थियो ।


अवैध संकलन गरिएको नदीजन्य बस्तुलाई जिल्ला दररेट अनुसार लिलाम गरिने गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।‘नदीजन्य बस्तुको उल्खनन्लाई कडाई गरिएको छ, ‘मागदावी गर्न आउन सूचना जारी गरिएको छ’ गाउँपालिका अध्यक्ष गर्बुजाले भन्नुभयो । उत्खनन् गरिएको नदीजन्य बस्तुमा प्रयोग गरिएको उपकरण सहितको जरिवाना ७ दिन भित्र तिर्न समेत जारी सूचनामा उल्लेख छ ।

ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएको नदीजन्य बस्तुको आवश्यक प्रक्रिया पुरा गरी जफत गर्न नियमित अनुगमन समेत गरिएको छ । साउन, भदौ महिनामा वातावरणीय प्रभाव मूल्यांकन विपरित उत्खनन् गरिएको बालुवालाई लिलाम विक्रि गरी थप कडाई सहित विना अनुमति बस्तु निकाल्न नदिने गाउँपालिकाले जनाएको छ । बर्षातको समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै ब्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्ने बेच्ने गरेका छन् । म्याग्दीमा राजनीतिक दल, जनप्रतिनिधि र प्रशासनले कानुन विपरित कालीगण्डकी र म्याग्दी नदीमा नदीजन्य बस्तुको दोहन गर्नेलाई प्रचलित नियम कानुन अनुसार कारबाही गर्न सकेका छैनन् ।