नवौं राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा महिला भलिबल र तेक्वान्दो प्रतियोगिता हुने

  • ३० भाद्र २०७९, बिहीबार
  • 729 पटक पढिएको

म्याग्दी ३० भदौ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद(राखेप) ले बुधवार गण्डकी प्रदेश भित्र खेल हुने स्थलका वारेमा निर्णय गरेको हो । नवौं राष्ट्रिय खेल प्रदेशका ६ जिल्लामा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार खेलकुद प्रतिस्पर्धा हुने खेलस्थल तय गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३६ खेलमा दुई खेलबाहेक अन्य बाँकी खेलहरु भने गण्डकी प्रदेशमै हुने भएका छन् । म्याग्दी जिल्ला भलिबल संघ र जिल्ला खेलकुद समिति म्याग्दीले संयुक्त रुपमा राष्ट्रिय खेलकुद परिषद (राखेप) समक्ष महिला भलिबल बेनीमा राख्न संयुक्त रुपमा प्रस्ताव गरेका थिए । खेल पूर्वाधारको निरक्षण र अनुगमन पश्चात म्याग्दीमा महिला भलिबल खेलको प्रतिस्पर्धा गराउन संभव भएकोले राखेपले उक्त निर्णय गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । भलिबल प्रतियोगिता असोज २७ देखि कात्तिक २ र तेक्वान्दो असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्राविधिक टोलीले भौतिक पूर्वाधार र खेलकुद प्रतियोगिताको संभावनाका वारेमा स्थलगत अनुगमन गरेर फर्किएपछि म्याग्दीमा महिला भलिबल खेलको प्रतियोगिता गर्न सिफारिस भएको हो । महिला भलिबलका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएको,महिला भलिबलको कप्तान जन्माउन सफल भएको र म्याग्दी महिला भलिबलको उर्वर भूमि भएको आधार पेश गर्दैै म्याग्दीले प्रतियोगिता सञ्चालनको लागि प्रस्ताब पेश गरेको थियो ।

महिला भलिबल र तेक्वान्दो म्याग्दीमा हुने निश्चित भएपछि आबश्यक तयारीमा जुटेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । नवौं राष्ट्रिय खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गरिएको छ । महिला प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहनेछ । भलिबल प्रतियोगिताले जिल्लाको पर्यटन प्रवद्र्धनमा ठूला टेवा मिल्ने अपेक्षा गरिएको छ ।