जापानमा रहेकी म्याग्देली गायिका श्रीपालीले न्याय र सुरक्षा माग गर्दै दिईन उजुरी

  • २९ भाद्र २०७९, बुधबार
  • 501 पटक पढिएको

म्याग्दी २९ भदौ । सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी म्याग्देली गायिका अमृता श्रीपालले आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै धन थापा विरुद्ध उजुरी दिएकी छन् । गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी श्रीपालले उक्त दोहोरी साझाँका संचालक तथा जापान लैजान स्पोन्सर गरेका बागलुङका थापाले आफुमाथि भौतिक आक्रमण र मानसिक चर्टर दिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन् ।


आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने, तर आउन जान यातायात खर्च समेत नदिने गरेको उनले निवेदनमा उल्लेख गरेकी छन् । कार्यक्रमका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको जस्ता आरोप समेत थापाले लगाउने गरेको उनले उल्लेख गरेकी छन् । ‘मेरो अझै दुई महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिनुहुन प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु,’ निवेदनमा उनले उल्लेख गरेकी छन्,

निज थापाले मलाई जापानमा र मेरो नेपाल (म्याग्दी)मा रहेको परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा अाफुलाइ मानसिक पीडा, सामाजिक बेइज्जत, सांगीतिक करिअरमा असर पर्नुका साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकाे उनकाे भनाइ छ ।   स्वार्थ पूरा नहुँदा सेप्टेम्बर ११ मा पनि भौतिक रुपमा अाफुमाथि आक्रमण गरेपछि  आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसेको उजुरीमा उल्लेख छ ।

उनले आफूलाई उचित न्याय र सुरक्षाको प्रत्याभूति हुने वातावरण मिलाइदिन शाखालाई आग्रह गरेकी छन् । उनले म्याग्दी प्रवासी नेपाली संघ मोना( जापान) मा समेत आफुलाई भएको अन्यायबारे निवेदन दिएकी छन् । गायिका श्रीपालमाथि भएको उक्त दुर्ववहार को घटनाप्रति मोना जापानले गम्भिर ध्यानकर्षण भएको जनाएको छ । संघका अध्यक्ष सचिन श्रेष्ठ र महासचिब गणेश श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तीमा उक्त घटनाका दोषिले गल्ती स्विकार गरेर लिखित माफि नमागे कानुनी कारबाहीको लागि अघि बढ्ने चेतावनी समेत दिईएको छ ।