दग्नामबासीले बनाए अन्न र ज्यालाको दरभाउ

  • २८ भाद्र २०७९, मंगलवार
  • 507 पटक पढिएको

बेनी, २८ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्थानीय उत्पादनको दररेट र कामदारको ज्याला निर्धारण गरिएको छ । परम्परागत रुपमा हुँदै आएको भदौरे गाउँसभाबाट यस बर्षको लागि स्थानीय उत्पादनका बस्तुहरुको खरिदविक्रि गर्दे दररेट र मजदुरी गर्ने व्यक्तिहरुको ज्यालादर निर्धारण गरिएको हो । प्रत्येक वर्षको भदौ महिनामा गाउँको रितिथिति व्यवस्थापन गर्न भदौरे गाउँसभा गर्ने प्रचलन रहेको छ । सभाबाट दररेट र ज्याला निर्धारण संगै स्थानीय रितिथिको बारेमा समेत आबश्यक निर्णयहरु गरिएको वडा अध्यक्ष पविन गर्बुजाले जानकारी दिनुभयो । सभाबाट पारित नियम उलंघन गर्नेलाई वडाबाट प्रवाह हुने सेवा सुविधा दिन रोक लगाईने निर्णय भएको उहाँले बताउनुभयो ।


यस सभामा नियम पारित गरेपछी बर्षभरी कसैमाथी अभद्र व्यवहार नगर्ने, बन्देज गरेको ठाउँमा पशुचौपाय छाडा नछाड्ने, चोरी डकैती र धार्मिक मुल्य मान्यता विपरितका कार्य नगर्ने भनी कसम खाने चलन समेत रहेको छ । सभाले प्रतिपाथिमा आलु, जौ, गहुँ, औवा, र मकैको मूल्य रु. २०० सय, कोदो र फापर रु. २५०, सीमी रु. ७००, भट्मास र टिमुर रु. ४००, केराउ रु. ४००, रजुला र बोडी रु.७००, घ्यु र मह प्रतिमाना रु.१ हजार र बेसार प्रतिमाना रु. १५० मा खरिद विक्रि गर्ने दररेट कायम गरेको छ ।

सभाले ज्यालादारीमा काम गर्ने व्यक्तिहरुको ज्याला समेत निर्धारण गरेको छ । असार र साउन महिनालमा काम गर्नेहरुलाई रु ७००, सुख्खा याममा काम गर्नेहरुको रु ८०० र अन्य महिनाको ज्याला रु ६०० निर्धारण गरेको छ । पूर्वाधार निर्माणतर्फ सिप, दक्षता र काम गर्ने प्रकृतिको कारणमा रु ७ सय देखि १ हजारसम्मको दररेट कायम गरिएको छ । खेतबारी जोत्ने व्यक्तिलाई गोरी सहितको प्रतिदिन रु १ हजार ६००, काठ काट्ने जोडीलाई रु २ हजार, मेशिनबाट काठ चिर्ने काममा प्रतिघण्टा रु १ हजार ५०० दररेट कायम गरिएको वडा कार्यालयले जनाएको छ । उक्त अवसरमा स्थानीय संघ संस्थाहरुको आर्थिक बर्ष २०७८÷७९ को आय व्यय समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा जनता मध्यामिक विद्यालय, सामुदायीक बन उपभोक्ता समिति, नाङ्गी देबी आमा समुह, सिद्धभुमे आमा समुह, धौलागिरी बहुउद्देश्य सहकारी संस्था, एकता युवा क्लव, दग्नाम स्वस्थ्य चौकी, नाङ्गी देबी तथा भुमेथान संरक्षण समिति, पुख्र्यौली संरक्षण समिति, दग्नाम नौमती बाजा समुहले आ–आफ्नो आम्दानी खर्च विवरण सभामा पेश गरेका थिए । सभामा वडाका जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि र स्थानीय बृद्धिजिवि समेतको सहभागीता रहेको थियो ।