दिदीबहिनी सहकारीको अध्यक्षमा गौतम चयन

  • २६ भाद्र २०७९, आईतवार
  • 537 पटक पढिएको

म्याग्दी २६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लगानी र व्यवस्थापनमा संचालनमा रहेको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा बेनीमा सम्पन्न भएको छ । साधारणसभा मार्फत सहकारीको अध्यक्षमा विष्णुकुमारी गौतम सापकोटा, उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिबमा जगत बानियाँ खत्री, कोषाध्यक्षमा अम्बिका श्रेष्ठ, सहसचिबमा कमला जिसी चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा जयन्ती रेग्मी सुवेदी, रजनी कर्मचार्य श्रेष्ठ,अञ्जना हमाल केसी, अम्बिका ढुंगाना, अनुषा श्रेष्ठ,पुष्पा थापा, रञ्जिता भट्टचन चयन हुनुभएको छ ।

त्यसैगरि शारदा शर्मा सुवेदीको संयोजकत्वमा लक्ष्मी भण्डारी कार्की र मेघा रिजाल सदस्य रहनुभएको लेखा समिति समेत चयन गरिएको छ । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका उप–मेयर ज्योति लामिछानेले महिलाहरुको नेतृत्वमा सञ्चालित सहकारीले महिलाहरुको आर्थिक समृद्धि र आयआर्जन सुधारमा रचनात्मक भूमिका खेलेको भन्दै महिलाहरु उद्यमशिल बन्नु पर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा सचिब सुगम श्रेष्ठले प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम , संस्थाका कोषाध्यक्ष जगत कुमारी खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हाल सम्म संस्थाको कुल शेयर पूँजी ४ करोड १२ लाख २३ हजार ८ सय रुपैयाँ रहेको जनाइएको छ । संस्थाले हाल सम्म ११ करोड ३० लाख ६१ हजार ७ सय २७ रुपैयाँ लगानी गरेको र ८ करोड ६९ लाख ४५ हजार ९८ रुपैयाँ बचत गरेको कोषाध्यक्ष खत्रीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा मात्रै कुल १ करोड २६ लाख ९१ हजार २ सय ६ रुपैयाँ आम्दानी र १ करोड १० लाख ७६ हजार ३५ रुपैयाँ खर्च गरेको कोषाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।


साधारणसभाकै अवसरमा शेयर सदस्यहरुलाई सहकारीको आवश्यकता, महत्व र वित्तीय जनचेतना प्रदान गर्ने उद्देश्यले सहकारीकर्मीको भुमिका, दायित्व र जिम्मेवारी समेतको विषयमा सहकारी प्रशिक्षक नारायण कार्कीले प्रशिक्षण दिनुभएको थियो । साधारणसभाको अवसरमा मुठ्ठीदान मार्फत अशक्त महिला बेनपा –३ की चन्द्रकली विकलाई नगद रु ५ हजार ५ सय ५५ रुपैयाँ र सम्मर बहादुर किसान र कोपीला किसानको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । त्यस्तै उत्कृष्ट बचतकर्ता, असल क्रृणीकर्ता र असल कारोवार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको छ । बैकल्पिक उज्यालो विद्यालयबाट एसईई उतिर्ण गरेका सदस्य रेणुदेवी मल्ल र योगमाया शर्मा पौडेल र उत्कृष्ट विद्याथीतर्फ सन्दिप प्रसाद पौडेल र दिपा आचार्यलाई सम्मान गरिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

२० जना महिलाहरुलाई एकल महिला प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको छ भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनुभएका संस्थाका शेयर सदस्यहरुलाई पनि सहकारीले सम्मान गरेको छ । साधारणसभाको उद्घाटन सत्र संस्थाका कार्यवाहक अध्यक्ष विष्णु गौतम सापकोटाको अध्यक्षता, सह सचिव अम्विका श्रेष्ठको स्वागत र र सचिव सुगम श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । ११५ जना शेयर सदस्यबाट सुरुभएको सहकारीमा हाल ८४३ सदस्य रहेका छन भने बेनीमा आफ्नै भवन निर्माण गरि कार्यालय संचालन गरेको छ ।