बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित

  • २२ भाद्र २०७९, बुधबार
  • 527 पटक पढिएको

म्याग्दी २२ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८% सहित प्रथम स्थान हासिल गर्न सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

नतिजा संगै अस्पतालबाट आगामी दिनहरुमा दिईने सेवा प्रवाहमा थप उत्पेरणा, हौसला प्राप्त हुनुका साथै थप जिम्मेवार र उत्तरदायित्व बोध भएको अस्पतालले जनाएको छ । १५ बेडबाट ५० बेड क्षमतामा स्तरोन्नती भैरहेको बेनी अस्पतालले भौतिक पूर्वाधारको अभाब र सिमित जनशक्तिका बिच पनि जिल्लामा अप्रेशन सहितको स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।

बेनी अस्पतालमा म्याग्दीका साथै संगै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका र पश्चिम बागलुङका नागरिकहरुले समेत स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् । ५० बेड क्षमतामा निर्माणधिन अस्पताल भवन भने ठेकेदारको लापरबाहीले ढिलासुस्तीको नमुना भएको छ भने अस्पतालले अस्थायी भवन निर्माण गरेर उपचार सेवा दिँदै आएको छ ।