भुरुङ तातोपानी बजारमा सिसि क्यामेरा र सडक बत्ती जडान

  • २१ भाद्र २०७९, मंगलवार
  • 629 पटक पढिएको

बेनी, २१ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भूरुङ तातोपानी बजारमा सिसि टिभी क्यामेरा र सडक बत्ती जडान गरिएको छ । पर्यटकीय बजारको रुपमा परिचित भुरुङ तातोपानी बजारमा हुन सक्ने चोरी, झै–झगडा लगायतका शान्ति सुरक्षा संग प्रतिकुल गतिविधिलाई नियन्त्रण गर्नका लागि बजार क्षेत्रमा सिसि क्यामेरा र सडक बत्ति जडान गरिएको हो ।

तातोपानी बजारका मुख्य चोकहरुमा २५ वटा सिसि क्यामेरा र आवश्यकता अनुसार सडक बत्ती जडान गरिएको तातोपानी टोल सुधार समितिका सचिव अमृतमान शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वधार तथा शहरी विकास मन्त्रालय मार्फत विनियोजन भएको रु १० लाख बजेटबाट उक्त सिसि क्यामेरा र सडक बत्ती जडान योजना सम्पन्न गरिएको हो ।

बजारमा जोडिएका क्यामेराको कन्ट्रोल भने इलाका प्रहरी चौकी भुरुङतातोपनीको कार्यालयमा रहेको छ । प्राकृतिक उपचार स्थल र पर्यटकहरुको थकान मेटाउने थलोको रुपमा परिचित तातोपानी कुण्डमा आउने सर्वसाधारण र पर्यटकहरुको चापलाई मध्यनजर गरि बजार क्षेत्रको शान्ति सुरक्षालाई प्रभाबकारी बनाउन सिसि क्यामेराबाट हुने निगरानी सहयोगी बन्ने प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड र अन्नपूर्ण पदयात्राले समेटिएको भुरुङ तातोपानी पर्यटकहरुको चहलपहल हुने क्षेत्रको रुपमा परिचित छ ।