प्रतिनिधी र प्रदेशसभा उमेद्वारका लागि माओवादीका १६ जनाको नाम सिफारिस

  • २० भाद्र २०७९, सोमबार
  • 497 पटक पढिएको

बेनी, २० भदौ । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको उमेद्वारका लागि १६ जनाको नाम सिफारिस गरेको छ । यसअघिको जिल्ला समन्वय समितिको बैठकमा उमेद्वारको दावी गरेका नेताहरुको सोमबार बेनीमा भएको छलफलबाट प्रदेश कमिटिमा नाम सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा संबिधानसभा सदस्य, केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेल, केन्द्रिय सल्लाहकार तथा पुर्व जिल्ला अध्यक्ष चन्द्रबहादुर घिमिरे र प्रदेश कमिटि सदस्य खुमनाथ सुवेदीको नाम सिफारिस भएको छ । प्रतिनिधीसभाको समानुपातिकमा कृष्णबहादुर थापा र राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ सिफारिस हुनुभएको छ । यसअघि प्रतिनिधिसभाको प्रत्यक्षमा दावी गर्नुभएका वाहालवाला प्रदेश सांसद विनोद केसीले दावी फिर्ता लिनुभयो ।

यसैगरी प्रदेशसभाको क्षेत्र (क)मा प्रत्यक्षतर्फको उमेद्वारका लागि धनलाल जैसी र हरि भण्डारीको नाम सिफारिस भएको छ । बेनी नगर कमिटिका अध्यक्ष सेरबहादुर केसीले दावी फिर्ता लिनुभयो । बागबिर पाईजा र राजकुमारी परियार समानुपातिकमा सिफारिस हुनुभएको छ । प्रदेशसभा क्षेत्र (ख) मा प्रत्यक्षतर्फ अर्जुन थापा, चन्द्रप्रसाद बुढाथोकी र रेशम जुग्जालीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ गौरी सेञ्चुरी, टेकबहादुर बिक, सुकमाया रोका र यामन रोका सिफारिस हुनुभएको छ ।