म्याग्दीमा एमालेका उम्मेदवार : प्रतिनिधिसभामा सर्वसम्मत, प्रदेशसभातर्फ आकाँक्षीको लर्को

  • २० भाद्र २०७९, सोमबार
  • 333 पटक पढिएको

म्याग्दी, २० भदौ । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकबाट निवर्तमान जिल्ला अध्यक्ष समेत रहनुभएका हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

श्रेष्ठ नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिबालय सदस्य समेत हुनुहुन्छ । बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ नरदेवी पुन र केपी (केदार प्रसाद) अधिकारीको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष देवेन्द्र बहादुर कटुवालले जानकारी दिनुभयो ।
प्रदेश सभा तर्फको दुई सिटमा भने उम्मेदवार बन्न हानथापले दुई दर्जन आकाँक्षीहरुको नाम सिफारिस भएको छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल, प्रकाश पौडेलको नाम सिफारिस भएको छ ।

प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ क मा विष्णु गुरुङ, गणेशबहादुर बानियाँ, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्वुजा, र सिवानी ल्वागनले र ख मा खरमाया विटालु, सिर्जना केसी, सिता गुरुङ सिफारिस हुनुभएको छ ।