प्रदेश स्तरीय महिला भलिबलमा म्याग्दी प्रथम

  • १९ भाद्र २०७९, आईतवार
  • 1180 पटक पढिएको

 

म्याग्दी, १९ भदौँ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय छनौट खेलमा म्याग्दीको महिला भलिबल टिम च्याम्पियन भएको छ । पोखरामा जारी रहेको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो ।

यो संगै म्याग्दी लगातार ३ पटक सम्म विजेता बनेको छ । विजयी टिम म्याग्दीले म्याग्दीले ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेका छन । पोखरा रंगशालामा भएको फाईनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । दुवै टिमले एक एक सेट जितेपछि तेस्रो सेटमा म्याग्दीले कडा प्रतिस्पर्धामा जित हासिल गर्न सफल भएको हो ।

यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय छनौटमा पनि रािष्ट्रय भलिवल टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा रहेको म्याग्दी महिला भलिबल टिम प्रथम भएको थियो । तीनवटै खेलमा मुख्य प्रशिक्षकको भूमिकामा जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्र बानियाँले गरेका गर्नुभएको थियो ।

प्रदेश स्तरीय छनौट प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ बाहेक अन्य १० वटा जिल्लाका १० टिम सहभागी भएका थिए । विजेता टिम म्याग्दीको खेलाडीहरुमा कप्तान अरुणा शाही सहित पवित्रा विसी, रेविना घर्ति, सस्मिता पुन, मनिषा तिलिजा, सृजना पाईजा, सजिना वुढाथोकी, एलिसा रोका, काजल छन्त्याल, वर्षा फगामी, निशा पाईजा र तुल कुमारी तिलिजा सहभागी हुनुभएको थियो ।

त्यस्तै क्षेत्रीय खेलाडी सुजन चोखालको कप्तानीमा रहेको पुरुष भलिबल भने शनिबार कास्की जिल्लासंग भएको क्वाटर फाइनलमा पराजित भएपछि खेलबाट बाहिरिएको छ । म्याग्दी जिल्लाको पुरुष तथा महिला भलिबलका खेलाडीहरुलाई मुख्य प्रशिक्षक बानियाँ सहित प्रशिक्षक कुमार किसान र मलिन रोकाले प्रशिक्षण गर्नुभएको थियो ।