तेक्वान्दोमा परियार र बर्देवाले जिते स्वर्ण पदक

  • १९ भाद्र २०७९, आईतवार
  • 539 पटक पढिएको

 

म्याग्दी, १९ भदौ । आगामी असोज २८ गते देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तेक्वान्दोतर्फ म्याग्दीका दुई खेलाडी छनोट भएका छन् । पोखरामा संचालन भएको गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगितामा म्याग्दीले तेक्वान्दोतर्फ दुई स्वर्ण जितसंगै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुग्न सफल भएका हुन् ।

छनौट खेलमा म्याग्दीबाट राजकुमार परियारले ८७ केजी मुनीको तौल समुह र सिचन्द्र बर्देवाले ७३ केजी तौल समुहमा स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । दूई जना असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुन नवौँ राष्ट्रिय खेलकुदमा सहभागित हुनेछन् । म्याग्दीका परियार मार्सलआर्ट खेलसँगै प्रशिक्षक समेत हुनुहुन्छ । उहाँ मार्सलआर्ट विधा बाहेक कवड्डीका प्रशिक्षक समेत भएर पोखरामा जानुभएको थियो ।
स्वर्ण पदक प्राप्त गरि नवौँ राष्ट्रिय खेलकुदमा छनौट भएका परियारले यसपटक राष्ट्रिय खेलमा समेत उपाधी जित्ने गरी तयारी गरिरहेको बताउनुभयो । उहाँले पहिलो खेलमा नवलपुरलाई, दोस्रो सेमिफाइनलको खेलमा पर्वतलाई र फाइनल खेलमा गोर्खालाई पराजित गर्नुभएको थियो ।

छनौट प्रतियोगितामा म्याग्दीबाट ४९ देखि ९० केजी सम्मको तौलमा २२ जना खेलाडी सहभागी भएका थिए । जसमध्ये विभिन्न तौलमा सोमा बुढा मगर, दिपेश पूर्जा, रेश्मा शेरपुन्जाले रजत पदक जितेका छन । त्यस्तै रोहित पर्टेल, कृपेशा शर्मा, रन्जिता तामाङ, सुरेन्द्र वर्देवा र इकल रोका र सुस्मिता दर्जीले कास्य पदक हात पारेको प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो ।

त्यस्तै काता पुम्से तर्फ म्याग्दीको महिला टिमका इशा गर्वुजा, प्रकृति रन्तिजा र रक्षा पुर्जा र पुरुष टिमका प्रमोद परियार, विशाल परियार र कुशल सुनारले रजत पदक जित्न सफल भएका प्रधानले बताउनुभयो ।

म्याग्दीले गण्डकी प्रदेशस्तरीय मार्सल आर्टको तेक्वान्दो कराँते र उसुमा स्वर्ण पदक सहित राम्रो प्रर्दशन गरेको छ । म्याग्दीबाट प्रदेशस्तरीय विभिन्न खेलका लागि सहभागी भएका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।