रघुगंगामा माओवादीले वडा स्तरमा संगठन विस्तार गर्ने
- १८ भाद्र २०७९, शनिबार
- 657 पटक पढिएको
म्याग्दी, १८ भदौ । नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका समितिले पालिकाभित्रमा संगठन विस्तार अभियान चलाउने भएको छ । शनिवार पार्टी कार्यालय मौवाफाँटमा बसेको पार्टीको विस्तारित बैठकले स्थानीय तह निर्वाचनको समिक्षा सहित आगामी निर्वाचनको रणनीति तय गर्दै पार्टीको संगठन विस्तार अभियान चलाउने निर्णय गरेको हो ।
बैठकले असोज महिनाभित्रमा पालिकाको ८ वटै वडाहरुमा वडा कमिटीको बैठक राख्ने र बस्ती स्तरमा संगठनलाई विस्तार गर्ने निर्णय गरेको माओवादी केन्द्र रघुगंगाका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो । बैठकले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउनका लागि आबश्यक भूमिका खेल्ने बिषयमा समेत छलफल गरेको थियो । बैठकलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज एवम् पार्टी केन्द्रीय सदस्य गोविन्द पौडेलले स्थानीय तह निर्वाचनमा रघुगंगामा पार्टीका उम्मेदवारहरुले प्राप्त जनमतलाई पार्टी सगठनमा रुपान्तरण गर्दै पार्टीलाई बलियो बनाउने अभियानमा केन्द्रीत हुन निर्देशन दिनुभएको थियो । उहाँले आसन्न प्रदेश र संघीय निर्वाचनमा पाँच दलिय गठबन्धनबाट जिल्लामा हुन सक्ने सम्भावित तालमेलको बारेमा जानकारी गराउँदै निर्वाचनको तयारीमा जुट्न समेत आग्रह गर्नुभएको थियो ।
भेलामा पालिका कमिटीका इन्चार्ज रिम कटुवाल, प्रदेश कमिटी सदस्य चिना हमाल खत्री, पालिका कमिटीका अध्यक्ष हरि भण्डारी लगायतले रघुगंगामा पार्टीको संगठनलाई बलियो बनाउने अभियानमा पालिका र वडा कमिटीका गतिविधि केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा पालिका कमिटी र वडा कमिटीका पदाधिकारी एवम सदस्य र जनबर्गिय संगठनका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।