म्याग्दीमा संघीय र प्रदेश सभाको उम्मेदवार हुन आकांक्षीको लर्को
- १८ भाद्र २०७९, शनिबार
- 663 पटक पढिएको
म्याग्दी, १८ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा क्रियाशील दलहरूले उम्मेदवार हुन आकांक्षी नेताहरुको नाम धमाधम सिफारिस गरेका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) र राप्रपा लगायतले उम्मेदवारको नाम सिफारिस गर्न थालेका हुन्।
प्रदेश निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका आकांक्षी उम्मेदवारको नामहरूलाई जिल्ला कमिटी छलफबाट प्रदेश र प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गर्ने गरी पार्टीहरूले पद्धतिको विकास गरेका छन्। सोहीअनुसार राजनीतिक दलले आकांक्षी उम्मेद्वारको नाम छनोट गरेका छन् ।
नेकपा एमाले म्याग्दी
नेकपा एमाले म्याग्दीले प्रतिनिधि सभा र प्रदेश सदस्य पदको आकांक्षी उम्मेद्वार छनोट गर्न शनिबार प्रदेश क र ख को बैठक बेन र दरबाङमा बसेको छ । नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले आकांक्षी उम्मेदवारविच छलफल भईरहेकोे बताउदै आईतबारसम्म जिल्लाका सबै क्षेत्रका उम्मेदवारको नाम सिफारिस गर्ने जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेस म्याग्दी
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले ३२ जनाको नाम सिफारिस गरेको छ । शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका व्यक्तिहरुको नाम प्रदेश समितिमा सिफारिस गरिएको जनाइएको छ ।
बैठकबाट प्रतिनिधि सभाको प्रत्येक्षतर्फ ३ र समानुपातीकमा ११ जना, प्रदेश निर्वाचन क्षेत्र क मा प्रत्यक्ष र समानुपातीकमा ४/४ जना र ख मा प्रत्यक्षतर्फ १ र समानुपातीकतर्फ ९ जनाको नाम पार्टीको गण्डकी प्रदेश समितिमा सिफारिस गरेको जिल्ला सचिब हिराबहादुर पुनले जानकारी दिए ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उप–सभापति कर्णबहादुर भण्डारी (केवी) सिफारिस भएका छन् । त्यस्तै प्रतिनिधिसभा तर्फकै समानुपातिकतर्फ नेत्रबहादुर महत, माधवप्रसाद रेग्मी, हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा, विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भिमबहादुर रोका मगर ,दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ ।
त्यसैगरि प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ बाट समेत आएका उम्मेदवारहरुको नामलाई जिल्ला समितिले प्रदेश समितिमा सिफारिस गरेको छ । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्याप्टेन मिनबहादुर कार्की, क्याप्टेन डमबहादुर गर्बुजा सिफारिस भएका छन् । त्यसैगरि सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएकोे छ ।
त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देविकुमारी बुढा ,यामबहादुर हर्मेल ,तमबहादुर थापा ,तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस गरिएको छ ।
नेकपा(माओवादी केन्द्र) म्याग्दी
नेकपा(माओवादी केन्द्र) म्याग्दीको विस्तारित बैठकले आगामी संघ र प्रदेशको निर्वाचनमा एक दर्जन बढी नेताहरुले उम्मेद्वार बन्न आकांक्षा राखेका छन् ।
बैठकको एजेण्डा अनुसार नै संघ र प्रदेश तर्फ उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुले आफ्नो दावि प्रस्तुत गरेका थिए । आसन्न निर्वाचनमा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदमा गोविन्द पौडेल, रेशम जुग्जाली, विनोद केसी र चन्द्रबहादुर घिमिरेले उम्मेदवार बन्न आकांक्षा राखेका छन् । त्यसैगरि समानुपातिकतर्फ संघमा कृष्णबहादुर थापाले आकांक्षी राखेका छन् ।
त्यसैगरि प्रदेश सभा ‘क’ मा हरि बहादुर भण्डारी, धनलाल जैसी, बागविर पाईजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरेले उम्मेदवार बन्न दावि रहेको छ भने प्रदेश सभा ‘ख’ मा रेशम जुग्जाली, झक बहादुर छन्त्याल, खुमनाथ सुवेदी, चन्द्रप्रसाद बुढाथोकी, र अर्जुन थापाले उम्मेदवार बन्न आकांक्षा व्यक्त गरेका छन् । त्यसैगरि समानुपातिकतर्फ संघमा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर बिक, यमन रोका, गौरी सेन्चुरी र सुकमायाँ रोकाले उम्मेदवार बन्न आकांक्षा राख्नुभएको छ ।
नेकपा (एकिकृत समाजवादी) म्याग्दी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) म्याग्दीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आकांक्षी उम्मेदवारका नाम सिफारिस गरेको छ।
जिल्ला कमिटीको बैठकले प्रत्यक्ष निर्वाचनका लागि केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहईञ्चार्ज गोविन्द सुवेदी र लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठको नाम सिफारिस गरेको छ।
त्यसैगरि समानुपातिकतर्फ म्याग्दी काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बद्री पुन (दिलु तिलिजा), प्रदेश कमिटी सदस्य देउप्रसाद छन्त्याल र पार्टीका सल्लाहकार प्रा. डा. होमबहादुर बरुवाल रहेका छन् । म्याग्दीको निर्वाचन क्षेत्र ‘क’ बाट प्रत्यक्षतर्फ पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्माको नाम सिफारिस गरिएको छ भने समानुपातिक तर्फ केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज मुना बानियाँ, जिल्ला सचिव दुर्गा कार्की र सचिवालय सदस्य डम्बर पूर्जाको नाम सिफारिस गरिएको छ ।
म्याग्दीको निर्वाचन क्षेत्र ‘ख’बाट प्रत्यक्षतर्फ सचिवालय सदस्य जयन्द्र केसी, अनुप गौचन र जिल्ला कमिटी सदस्य ममता जुग्जालीको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य रुद्र किसान, बमबहादुर पाइजा र जिल्ला कमिटी सदस्य कल्पना सापकोटाको नाम सिफारिस गरेको छ।
जिल्लामा मुख्य दलबाहेक रापप्रा लगायतले उम्मेदवार छनोटमा केन्द्रित भएका छन् ।