गण्डकी प्रदेश स्तरीय कराँतेमा म्याग्दीलाई २ स्वर्ण

  • १७ भाद्र २०७९, शुक्रबार
  • 783 पटक पढिएको

म्याग्दी १७ भदौ । पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा कराँते विधातर्फ दुइ स्वर्ण पदक हात पार्दै  म्याग्दीका ६ जना खेलाडी आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका छन । कराँतेको कुमुतेमा प्रज्वल शेरचन, सुमन बानियाँ, मार्शल गर्वुजा, समिति शर्मा र मौसम किसानले स्वर्ण पदक जितेका छन ।
त्यस्तै ६१ केजी समुहको महिला तर्फ प्रिती थापाले स्वर्ण पदक जित्नुभएको छ । कुमुतेमा सहभागी खेलाडी र थापाले स्वर्ण पदक जित्दै राष्ट्रिय खेलका लागि गण्डकी प्रदेशबाट छनौट भएको कराँतेका प्रशिक्षक विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । ५ जना खेलाडी सहभागी हुने कुमुतेमा म्याग्दीले फाइनल खेलमा बाग्लुङलाई पराजित गरेको थियो ।
अव प्रदेशबाट राष्ट्रिय पदक जित्नका लागि थप तयारी गरिने प्रशिक्षक श्रेष्ठले बताउनुभयो । छनौट प्रतियोगितामा म्याग्दीबाट सहभागी भएका मार्शल गर्वुजाले ५० केजी पुरुषतर्फ रजत पदक जित्नुभएको छ भने टिम काता पुरुष र महिला ६७ केजी पुरुषतर्फ प्रज्वल शेरचनले कास्य पदक जित्नुभएको प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
म्याग्दीबाट प्रदेश स्तरीय विभिन्न खेलका लागि करिव २ सय खेलाडी छनौट भएका थिए । पोखरामा असोज २८ गतेदेखि कार्तिक ३ गते सम्म संचालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि पोखरामा विभिन्न छनौटका खेलहरु संचालन भईरहेका छन ।