म्याग्दीमा काँग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस
- १७ भाद्र २०७९, शुक्रबार
- 623 पटक पढिएको
बेनी, १७ भदौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । बेनी स्थित जिल्ला पार्टी कार्यालयमा बसेको बैठकमा प्रत्यक्ष तर्फ चार र समानुपातिक तर्फ १० जना आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, पार्टी जिल्ला उप–सभापति केवी भण्डारी र पूर्व सह–सभापति नेत्रबहादुर महत सिफारिस हुनुभएको जिल्ला सचिब हिराबहादुर पुनले जानकारी दिनुभयो । जिल्लामा पार्टीमा उम्मेदवार हुन दावि पेश गर्नुभएका सबैको नाम प्रदेश समितिमा पठाउने निर्णय गरिएको सचिब पुनले बताउनुभयो ।
त्यस्तै प्रतिनिधिसभा तर्फकै समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा,विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भिमबहादुर रोका मगर ,दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ ।निर्वाचनमा सिफारिस हुने उम्मेदवारलाई केन्द्रबाट तोकिएको मापदण्डलाई भने उल्लंघन गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा आकांक्षी धेरै भए मतदानको माध्यमबाट भएपनि उम्मेदवार बनाउन माग गरिएकोमा आकांक्षी सबैको नाम पठाइएको छ ।
त्यसैगरि प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ले समेत उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्याप्टेन मिनबहादुर कार्की, क्याप्टेन डमबहादुर गर्बुजा सिफारिस हुनुभएको छ । त्यसैगरि सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएकोे छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’बाट प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खिमबहादुर पुर्जा,देविकुमारी बुढा ,यामबहादुर हर्मेल ,तमबहादुर थापा ,तेजिन्द्र थापा, कमरा पटेल र सुरेन्द्र खत्रीको नाम सिफारिस गरिएको छ ।