बेनी अस्पतालको बार्षिक समिक्षा गोष्ठी
- १५ भाद्र २०७९, बुधबार
- 661 पटक पढिएको
म्याग्दी, १५ भदौ । बेनी अस्पतालले आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रगती विवरण समिक्षा गोष्ठी मार्फत सार्वजनिक गरेको छ । बुधबार अस्पतालले सरोकारवालाहरुको उपस्थितमा गत आर्थिक बर्षको गतिविधि सार्वजनिक गरेको हो ।
अस्पतालमा भएको पुर्वाधार र जनशक्ति मार्फत गत आर्थिक बर्षमा ३८ हजार ४३२ जनालाई स्वास्थ्य सेवा दिएको अस्पतालका डाक्टर जितेन्द्र कंडेलले बताउनुभयो । २०४६ सालमा स्थापना भएको यस अस्पतालले २०७२ सालमा ५० शैयाको अस्पतालमा स्तरोन्नती भएको थियो । सो अनुसार समयमै भौतिक पूर्वाधार नबन्दा स्वास्थ्य सम्वन्धी सबै सेवाहरु गुणस्तरीय रुपमा सेवाग्राहीलाई दिन नसकेको डाक्टर कंडेलले भन्नुभयो ।
गत आर्थिक बर्ष सुरक्षीत मातृत्व सेवा ७९९ जनाले लिएका छन् भने गर्भपतन सेवा ३५४ लिएको अस्पतालले जनाएको छ । गतबर्ष २०३ महिला र ४५ जना पुरुषको सफल अप्रेशन भएको अस्पतालले जानकारी दिएको छ । ५० शैयाको भवन निर्माणमा ढिलासुस्ती र दरबन्दी अनुसार जनशक्ति अभाव छ । हाल दरबन्दी २४ जनामध्ये १३ जना कार्यरत छन भने १२ जना अध्ययन विदामा रहेको अस्पतालले जानकारी दिएको छ । सरकारी दरवबन्दी र अस्पताल ब्यवस्थापन समितिले ब्यवस्थापन गरेको डाक्टर र स्वास्थ्यकर्मी मार्फत सेवाहरु संचालन गरिएको छ ।
अस्पतालले भएको पुर्वाधारलाई सदुपयोग गर्दै स्तनपान कक्ष, सामाजिक सेवा ईकाई, बच्चा वार्ड, अक्सिजन प्लान लगायतको स्वास्थ्य सेवाहरु ब्यवस्थापन गरिएको डाक्टर कंडेलले भन्नुभयो । अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरेर श्रावण महिनामा गरिव, जेष्ठ नागरिक, अपाङ्ग र प्राकृतिक प्रकोप लगायतका ४१ जनालाई निशुल्क सेवा दिएको डाक्टर कंडेलले जानकारी दिनुयभो । बेनी अस्पतालमा आईसीयु सेवा संचालनको लागि जनशक्ति ब्यवस्थापन गर्न पालिकाले आर्थिक सहयोग गर्ने वातावरण तयार गर्न जनप्रतिनिधिलाई डाक्टर कंडेलले आग्रह गर्नुभएको छ ।
समिक्षा गोष्ठीमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले नीतिगत÷कानुनी समस्यासंगै ठेकेदारको लापरबाहीले अस्पतालको भवन अलपत्र परेको जानकारी गराउदै छिटो सम्पन्न गराउनका लागि पहल गर्ने बताउनुभयो । जनताको अपेक्षा अनुसार थपिएका स्वास्थ्य सेवाहरु प्रभावकारी रुपमा संचालन गर्न लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने जोड दिनुभयो । बेनी अस्पतालको सेवालाई प्रभावकारी रुपमा संचालन गर्नका लागि ब्यवस्थापन समिति, डाक्टर र नर्स जिम्मेवार बन्न प्रमुख थापाले आग्रह गर्नुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले अस्पतालको सेवाहरुमा जनताको विश्वास बढेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका बेनी नगर कमिटीका अध्यक्ष शेरबहादुर केसी र अस्पताल ब्यवस्थापन समितिका सदस्य दुर्गाराम सुवेदीले जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरु मिलेर अस्पतालको भवन छिटो सम्पन्न गराउने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतमले राजनीतिक दल र जनप्रतिनिधि जिम्मेवार नबन्दा अस्पतालको भवन निर्माणमा ढिलाई भएको बताउनुभयो ।
बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ जानपुपर्ने अवस्थालाई रोक्न आईसीयू लगायतको विभिन्न सेवाहरु प्रभावकारी रुपमा संचालन गर्नका लागि स्थानीय तहको सहयोग आवश्यक रहेको बताउनुभयो । जिल्लाका तीन तहका जनप्रतिनिधिले अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्रमा बढी ध्यान दिन आग्रह गर्नुभयो । अस्पतालका मेडिकल सुपरभाईजर प्रकाश सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन पुजा बानियाँले गनुर्भएको थियो ।