स्वास्थ्यकर्मीलाई वडामा पञ्जाधिकारीको जिम्मेवारी

  • १५ भाद्र २०७९, बुधबार
  • 637 पटक पढिएको

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको स्वास्थ्य चौकीमा सिएमए अजय यादव कार्यरत छन् । तर यादवले स्वास्थ्य सेवाका साथसाथै स्थानीय पञ्जाधिकारीको काम गर्दै आएका छन् । कारण हो, वडामा सचिव नहुनु । पेशा, अध्ययन र अनुभव स्वास्थ्यसम्बन्धी भए पनि वडा सचिवको प्रशासनिक काम गर्नुपर्दा समस्या झेल्नुपरेको उनको भनाइ छ । म्याग्दीका १८ वटा वडा कार्यालयमा सचिव नहुँदा स्थानीय तहले पञ्जाधिकारीको जिम्मेवारी स्वास्थ्यकर्मी र प्राविधिक सहायकलाई दिएका छन् । जन्म, मृत्यु, बसाइँसराइ, विवाह, दर्ता र सम्बन्ध विच्छेदको काम गर्ने वडा सचिवको काम स्वास्थ्यकर्मीलाई दिइएको हो । दोहोरो जिम्मेवारीले काम गर्न समस्या भएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् ।

स्वास्थ्य र वडा कार्यालयसँगै नभएको ठाउँमा सेवाग्राहीले भनेको समयमा सेवा पाउन समस्या छ । स्वास्थ्य संस्थामा बिरामीको उपचार, परामर्श, औषधि वितरण र नियमित प्रशासनिक काम प्रभावित बनेको छ । म्याग्दीका छ वटा स्थानीय तहमा ४५ वडा छन् । धवलागिरि गाउँपालिकाको वडा नम्बर १, ४ मालिकाको २, ३ र ४, मङ्गलाको १, ३ र ४, रघुगङ्गाको ४, ६ र ७ तथा अन्नपूर्ण गाउँपालिकाको २ र ८ नम्बर वडा कार्यालयमा सचिव छैनन् ।

धवलागिरिको ६, मालिका गाउँपालिका–७ बिम, रघुगङ्गा गाउँपालिका–८, अन्नपूर्ण गाउँपालिकाको ३ र ४ नम्बर वडाको सचिवको जिम्मेवारी प्राविधिक सहायकलाई दिइएको छ । धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मुदीमा आन्तरिक लेखा परिक्षक तिलक पौडेललाई वडा सचिवको जिम्मेवारी दिइएको छ । गाउँपालिकाको आन्तरिक आम्दानी, खर्च प्रणालिलाई चुस्त, व्यवस्थित र पारदर्शी बनाउनुपर्ने जिम्मेवारी भए पनि वडा सचिवको रुपमा पञ्चाधिकारीको काम गर्नुपरेको पौडेलले बताए । स्थायी दरबन्दीका कर्मचारीले मात्र पञ्जाधिकारीको काम गर्नुपर्ने व्यवस्था भएकाले स्वास्थ्यकर्मीलाई जिम्मेवारी दिनुपरेको मालिका गाउँपालिकाका प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए ।

“भौगोलिक विकटताले एउटै सचिवलाई दुई वटा वडाको जिम्मेवारी दिन पनि सम्भावना छैन”, उनले भने,“अरु विकल्प नभएपछि स्वास्थ्यकर्मी र प्राविधिक सहायकलाई वडा सचिवको जिम्मेवारी दिनुपरेको हो ।” दुई वर्षअघि प्रदेश लोकसेवा आयोग उत्तीर्ण गरेर स्थानीय तहमा आएका कर्मचारी घरपायक र सुविधायुक्त ठाउँमा सरुवा भएर जान थालेपछि ग्रामीण र दुर्गम क्षेत्रका वडा तथा पालिकामा जनशक्ति अभाव हुन थालेको हो । लोकसेवा उत्तीर्ण भएर आउने प्रशासनिक र प्राविधिक जनशक्ति केही समय काम गरेपछि आफूलाई पायक पर्ने र सुविधायुक्त ठाउँमा सरुवा भएर जाने गरेका छन् । जिल्लाकै जनशक्ति कम छन् । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकामा लेखा, शिक्षा, योजना अधिकृत र इञ्जिनीयरको दरबन्दी रिक्त भइसकेको छ ।

मंगला गाउँपालिकामा शिक्षा अधिकृत नहुँदा शिक्षकको आन्तरिक मूल्याङ्कन प्रभावित हुदाँ वृत्ति विकासमा असर पुगेको शिक्षक हुमनाथ पाण्डेले गुनासो गरे । धवलागिरिबाट हालै मंगला गाउँपालिकामा सरुवा भएका प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जनशक्ति अभाव म्याग्दीको सेवा प्रवाहमा प्रमुख चुनौतिका रुपमा रहेको बताए । “बाहिरी जिल्ला घर भएका कर्मचारी सकेसम्म म्याग्दीमा आउन नमान्ने, आए पनि छिट्टै सरुवा भएर जाने गर्छन् ।” उनले भने, “दीर्घकालीन समस्या समाधानका लागि जनशक्ति उत्पादन गर्न नयाँ पुस्तालाई सरकारी सेवाप्रति आकर्षित गराउनुपर्ने देखिन्छ ।’’

विकास निर्माणका कामलाई गुणस्तरीयता प्रदान गरी बजेट समयमै खर्च गर्न स्थानीय तहलाई कर्मचारी अभावले समस्या भएको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । लोक सेवा आयोगमा मागिएको स्थायी दरबन्दी पदपूर्ति नहुँदासम्मका लागि करारमा कर्मचारी नियुक्त गर्न लागिएको उनले बताए ।