स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पाँच बुदे प्रतिवद्धता

  • १३ भाद्र २०७९, सोमबार
  • 665 पटक पढिएको

 

बेनी, १३ भदौ । म्याग्दीमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सोमबार पाँच बुदे प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा बेनीमा सम्पन्न आर्थिक बर्ष २०७८/०७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा सहभागि बेनी अस्पताल, आयुर्वेद र पालिकाका स्वास्थ्य संयोजक लगायतले प्रतिवद्धता जनाएका हुन् ।


नेपाल सरकारले सुरुवात गरेको पूर्ण खोप सुनिश्चितता, पूर्ण खोप वडा, परिवार नियोजनको साधन उपलब्ध स्वास्थ्य संस्था घोषणा, क्षयरोग मुक्त वडा तथा पालिका घोषणा, विद्यालय स्वास्थ्य शिक्षा, अभिलेख र तथ्याङ्कलाई ब्यवस्थित बनाउने, महिला स्वास्थ्य स्वयमसेवीका र आमा समूहलाई स्वास्थ्य कार्यक्रममा प्रभावकारी रुपमा परिचालन गर्ने प्रतिवद्धता जनाएका छन् । स्थानीय तहको परिस्थित अनुसार नविनतम कार्य तथा रणनीतिहरु अबलम्वन गर्दै आधारभूत सेवाहरु पाउने वातावरण तयार गर्ने प्रतिवद्धता स्वास्थ्यकर्मीहरुले गरेका छन् ।

पाँच बुदे प्रतिवद्धता पत्रमा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, बेनी अस्पतालका मेसु जितेन्द्र कंडेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख दामोदर शर्मा, बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा, मंगला मालिका र धवलागिरिका कार्यरत स्वास्थ्य शाखाका प्रमुख लगायत प्रतिनिधिले हस्ताक्षर गरेको थिए ।

दुईदिन संचालन भएको कार्यक्रममा स्वास्थ्य सम्वन्धी कार्यक्रमका उपलब्धी, अभ्यास, चुनौती र समाधानका प्रयासका विषयमा छलफल भएको स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी गणेश सुवेदीले जापनकारी दिए । स्थानीय तहहरुको विभिन्न जनस्वास्थ्यका सूचकहरुको मूल्यांकनको आधारमा प्रथम हुन सफल बेनी नगरपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाद्वारा प्रशंसापत्रले सम्मान गरिएको थियो ।