म्याग्दीमा पनि सुरु भयो चुनावी चहलपहल

  • १२ भाद्र २०७९, आईतवार
  • 573 पटक पढिएको

 

संघ र प्रदेशको निर्वाचन आउन अबसाढे दूई महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको छ । मङ्सिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्ष्य गर्दै जिल्लाका राजनीतिक दलले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीजस्ता गतिविधि सञ्चालन गर्न थालेका छन् । चुनावको तयारीका लागि जिल्लाका सक्रिय राजनीतिक दलका नेताहरु कार्यकर्ता तथा मतदाताको अपेक्षा बुझ्नका लागि गाउँ पसेका छन् । कांग्रेसले सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सकेर गत शुक्रबारदेखि ‘जनताको साथमा कांग्रेस’ नामक एक महिने अभियान सञ्चालन गरेको छ ।

जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकर्ता भेला, सङ्गठन सुदृढीकरण, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको तयारीसहित रणनीति निर्माणलगायत कार्यक्रम सकेर ‘जनताको साथमा कांग्रेस’ अभियानलाई तीव्रता दिइएको जिल्ला कार्य समितिका सचिव हिराबहादुर पुनले जानकारी दिए ।जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले आगामी मङ्सिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई पहिलो दल बनाउन पार्टी पङ्क्तिलाई चुस्त रुपमा परिचालन गर्ने बताए । निर्वाचनमा पालिकास्तरीय, वडास्तरीय र गाउँटोलस्तरीय चुनावी अभियानको तयारीमा जुट्न उनले निर्देशन दिएका छन् । वर्तमान सरकारले गरेका कामको प्रचारप्रसार, पार्टीको नीति ,विचार, सिद्धान्त तथा कार्यक्रमका बारेमा सबै नागरिकलाई बुझाउन आवश्यक रहेकाले यो अभियान सञ्चालन गरिएको उनले बताए ।

नेकपा (एमाले) ले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ । नेकपा (माओवादी केन्द्र) ले जिल्ला समन्वय समितिको बैठक बसेर सङ्गठन सुदृढीकरण अभियान सुरु गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाइ सिफारिस समेत गरिसकेको छ । एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले गत साउन महिनामा जिल्लाका सबै छ वटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन भइसकेको बताए ।

निर्वाचनलाई लक्ष्य गरेर नेकपा (एमाले) ले एक महिने अभियानअन्तर्गत जिल्लाका वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरी निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको छ । एमालेले पार्टी अभियान र निर्वाचन लक्षित रणनीतिक योजनासहित पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई क्रियाशील बनाउन निर्देशनसमेत दिएको छ । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि राजनीतिक दलका नेताहरु गाउँ पसेपछि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर नेता कार्यकर्ता गाउँ पसेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले त प्रतिनिधिसभामा पूर्व सहायकमन्त्री जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क) मा रामबहादुर शाही र क्षेत्र (ख) मा होमबहादुर थापालाई उम्मेदवार बनाउन नाम नै सिफारिस गरिसकेको जनाएको छ । जिल्लामा प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र छन् । गत २०७४ को चुनावमा प्रतिनिधिसभामा एमालेका भूपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र (क) मा माओवादीका विनोद केसी र क्षेत्र (ख) मा एमालेकी नरदेवी पुन विजयी भएकी थिइन् । यसपटकको निर्वाचनमा उम्मेदवारका आकाङ्क्षी बढेका भए पनि मतदाता तथा कार्यकर्ताको मनोभावना, बुझेर उम्मेदवार चयन गर्ने नेताहरुको भनाइ छ ।

विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउने दलका नेताहरुले बताएका छन् । गत स्थानीय तह चुनावमा म्याग्दीमा एमालेले चार पालिका प्रमुख, तीन वडा उपप्रमुख र १८ वडा, कांग्रेसले दुई पालिका प्रमुख, एक उपप्रमुख, १७ वडा र माओवादी केन्द्रले दुई उपप्रमुख र ६ वडा जितेका थिए । यसपटकको निर्वाचनमा जनताका अपेक्षा पनि बुझेर उम्मेदवार छनोट गर्ने मनस्थितिमा दलहरु देखिन्छन् । स्वच्छ छविको व्यक्तिले निर्वाचनमा टिकट पाउनुपर्छ, नेताहरूको वरिपरि घुम्नेभन्दा पनि जनतामाझ लोकप्रिय उम्मेदवार हुनुपर्छ, विकासप्रेमी र सुशासन कायम गर्ने व्यक्ति, जनभावना बुझ्ने र गाउँ केन्द्रित हुने खालको उम्मेदवार पहिचान गरेर भोट दिने मनस्थितिमा म्याग्देली जनता रहेका छन् ।