नतिजा पुनर्योगबाट लिटल गार्डेनका उत्सव सापकोटाको एसइईमा ४ जिपिए

  • १० भाद्र २०७९, शुक्रबार
  • 479 पटक पढिएको

म्याग्दी १० भदौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका म्याग्दीका एक परीक्षार्थीले पुनर्योग गर्दा ४ जिपिए ल्याएका छन् । सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीका उत्सव सापकोटाले आफुले प्राप्त गरेको नतिजामा चित्त नबुझेपछि सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योगको आवेदन दिएकोमा उक्त पुनर्योगको नतिजामा सापकोटाको सर्वोत्कृष्ट ४ जिपिए कायम भएको हो ।


म्याग्दीको मंगला गाउँपालिका बरंजा स्थायी घर भई हाल बेनीमा बस्ने सापकोटाले आफ्नो मेहनत अनुसारको नतिजा आएको प्रतिकृया दिनुभयो । सापकोटाले सामाजिक विषयमा पुनर्योगका लागि आवेदन दिएको र विद्यार्थीले आफुले प्राप्त गरेको नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योगबाट भएपनि विद्यार्थीको मेहनतको फल प्राप्त भएको विद्यालयका प्रिन्सिपल दिपक सुबेदीले बताउनुभयो ।

विद्यालयबाट एसईईमा सहभागी अर्का विद्यार्थी बब्लु शाहले ३.९५ जिपिए ल्याउनुभएको थियो । सापकोटाको ४ जिपिए नतिजा संगै लिटल गोर्डेनले यस बर्ष देशभरबाटै ४३ जना मात्रैले ४ जिपिए ल्याउने विद्यार्थीहरुको सूचिमा आफ्नो विद्यालयबाट समेत प्रतिनिधित्व गराउने सफलता पाएको छ ।