प्रेरक सङ्घर्ष : ‘जस्को भेडीगोठमै बित्यो जीवन’ (फिचर)

  • १० भाद्र २०७९, शुक्रबार
  • कमल खत्री
  • 811 पटक पढिएको

कमल खत्री
म्याग्दी १० भदौ । हरियाली लेकाली खर्क । आँखै अगाडी ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा स–साना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरनक्षेत्रमा सेताम्मे देखिन्छन भेडाका बथान । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरखोला क्षेत्रमा देखिने यो दृष्य निकै रमाईलो र लोभलाग्दो देखिन्छ । खोप्रा–खयर पदमार्ग अन्तरगत पर्यटकहरु आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक भेडापालन पनि हुँदै आएको छ ।


यिनै गोठहरुमा भेटिनुहुन्छ उमेरले ७८ पुग्नुभएका लालविर तिलिजा । पाउद्धार गाउँका बासिन्दा रहनुभएका तिलिजाले भेडीगोठमा आफ्नो जीवनको अधिकाँश समय बिताउनुभयो । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर तिलिजाको जाँगर घटेको छैन । भेडीगोठसंगको उहाँको सामिप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा संघर्षमय तरिकाले रमाउनुभएका तिलिजा बुढ्यौली लाग्दा समेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन ।
बेशीका फाँटदेखि पहाडका पाखा पखेरा हुँदै हिमालका बुकीसम्म भेडीगोठ राख्ने र भेडा चराउने काममा तिलिजाको जीवनको करिब–करिब ७० बर्ष बढी समय वित्यो । ६ बर्षको उमेरदेखि नै बुबा आमा संग गोठ बस्नुभएका तिलिजालाई औपचारिक शिक्षा लिने अवसर मिलेन । बुबा आमा संग गोठमा बस्दै गर्दा आफुलाई समेत गोठप्रतिकै लगाब बढेपछि बाबुले गरेकै पेसालाई जिवनभर अंगालेको तिलिजाले बताउनुभयो । ‘‘मैले थाहा पाएसम्म हाम्रो जिजु, बाजे, बुबा हुँदै म सम्म आइपुग्दा चार पुस्ताले नै भेडापालन गर्यौ, मैले भेडापालनबाटै परिवार धाने, छोराछोरीलाई पढाएँ, उनीहरुको रहर अनुसारको देशमा रोजगारको लागि पठाएँ, गोठमै बसेर गरेको आम्दानीबाट सन्तुष्ट छु’’– तिलिजाले भन्नुभयो ।
भेडापालनबाटै कमाएको पैसाले साईला छोरा जापान, जेठा छोरा युके पठाएको तिलिजाले सुनाउनुभयो ।‘‘ चार भाई छोरा, पाँच बहिनी छोरी छन, उनीहरु सबैलाई विद्यालय तहको शिक्षा दिएँ, उनीहरुकै इच्छा अनुसार कतिपयलाई लाखौँ खर्च गरेर विदेश पनि पठाएँ, उनीहरुले र मैले कमाएको पैसाबाट पोखरामा घर पनि जोडेको छु, श्रीमती र कान्छा छोरा अहिले पोखरातीरै बस्छन्, माईला छोराले वडा अध्यक्ष जितेर गाउँको नेतृत्व सम्हालेका छन्,’’–उहाँले पारिवारिक अवस्था सुनाउनुभयो ।
तिलिजाको गोठमा अहिले करिब ३ सय भेडा छन् । गोठको खर्च र हेरालुको ज्याला कटाउँदा बर्षमा रु १० देखि ११ लाख सम्म आम्दानी हुने गरेको उहाँले बतानुभयो । उत्पादन गर्न सके विक्रिका लागि बजारको अभाब नभएको उहाँको भनाई छ । ‘‘जनैपूर्णिमा लगायतका पर्वहरुमा पुजाका लागि साँडहरु किन्न ग्राहकहरु गोठमै आउँछन, चाडपर्वको लागि मासु खानका लागि पनि गोठबाटै भेडाहरु किन्न गाउँलेहरु आइपुग्छन्, बरु किन्नेले खोजेतजि विक्रि गर्ने भेडाहरु उत्पादन गर्न नै सक्दैनौँ’’–तिलिजाले भन्नुभयो ।
गोठका उकाली ओरालीमा ७ दशक समय बिताउनुभएका तिलिजालाई भेडीगोठ बस्ने रहर अझै पुरा भएको छैन् । भर्ति हुने र लाहुर जाने सपनामा केहि बर्ष भेडीगोठबाट बाहिरीएपनि सफल नभएपछि पुनः भेडापालनमै फर्किएको उहाँले बताउनुभयो । ‘‘ एक गोठको भेडाको पैसा दलालले खाइदियो, त्यतिबेला ८६ हजारमा भेडीगोठ बेचेको थिएँ, बम्बै सम्म पु¥याएर दलालले सबै पैसा खाइदियो, १० महिना त्यहाँ बस्दा पनि विदेश पठाउने निधो नभएपछि फेरी गाउँ फर्किएँ र भेडापालनकै इलममा लागेँ’’– तिलिजाले आफ्नो संघर्षका उतार चढाब सुनाउनुभयो ।
विदेशमा रहेका छोरा छोरीले गोठबाट विश्राम लिएर आरामदायि जिवनयापन गर्न सुझाब दिने गरेको बताउँदै उहाँले आफ्नो हात पाखुरा चल्दा सम्म गोठ छाड्न मन नलागेको बताउनुभयो । तिलिजाले बर्खायाममा खयरखोला हुँदै अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको फेदीसम्मै भेडीगोठ पु¥याउने भएपनि हिउँदयाममा खोप्राडाँडा हुँदै पाउद्धार र पर्वतको लेसपारका बेशीका फाँट सम्म गोठ झार्ने गर्नुभएको छ । ‘‘बाघ र चट्याङको डर भेडीगोठमा भैरहन्छ, केहि बर्ष अघि चट्याङ लागेर एकैपटक ६२ वटा भेडा मरे, बाघले एक÷दुई वटा भेडाहरु खान्छ, भेडीगोठको सुरक्षामा हामी गोठालासंगै कुकुरहरु हेरालुकै भूमिकामा हुन्छन्’’– उहाँले भन्नुभयो ।
चार पुस्ताले गर्दै आएको भेडापालन आफुपछिको पुस्ताले छाड्ने चिन्छा तिलिजामा छ ।

तर अन्नपूर्ण गाउँपालिका–५ का वडा अध्यक्ष समेत रहनुभएका तिलिजाका छोरा राजेश तिलिजाले बुबाले गर्दै आएको भेडापालनलाई आफुले पनि निरन्तरता दिने सोच बनाएको बताउनुभयो । ‘‘ अघिल्लो पटक वडा सदस्य र कार्यवहाक वडा अध्यक्ष भएर काम गरेँ, यो कार्यकालमा वडा अध्यक्षमा निर्वाचित भएर काम गरिरहेको छु, जनप्रतिनिधिको भूमिकाबाट बाहिर आएपछि भेडापालनलाई नै अगाडी बढाउने योजना बनाएको छु’’–वडा अध्यक्ष तिलिजाले भन्नुभयो । बुबालाई भेडापालनबाट विश्राम लिन सुझाब दिएपनि उहाँले भेडीगोठमै आफुलाई आनन्द रहेको बताउँदै पारिवारिक आग्रहलाई इन्कार गर्ने गरेको उहाँले बताउनुभयो ।


पहिलेको तुलनामा भेडापालन घट्दो र भेडाहरुको माग बढ्दो क्रममा रहेको बताउँदै उहाँले युवा पुस्ताले गोठ बस्न नरुचाउने भएकाले भेडापालनको पेसा पुस्तान्तरण हुन नसक्ने अवस्थामा पुगेको अनुभव सुनाउनुभयो । खयर क्षेत्रमा भेडापालनको सम्भावना रहेको बताउँदै वडा अध्यक्ष तिलिजाले पछिल्लो समय केहि युवाहरु यस पेसामा आबद्ध हुन थालेको जानकारी दिनुभयो । पाउद्धार गाउँका २१ बर्षिय युवा प्रकाश पुन विगत एक बर्षदेखि भेडापालनका लागि भेडीगोठ बस्न थाल्नुभएको छ । शिख माविबाट कक्षा १२ उर्तिण गरेपछि दुई बर्ष भैँसीपालन गर्नुभएका पुनले एक बर्षदेखि साझेदारीमा भेडापालन गर्न थाल्नुभएको हो । स्थानीय कमल तिलिजा र कुमार पाईजासंग पुनले खयर क्षेत्रमा साझेदारीमा भेडापालन गर्नुभएको छ । ‘‘ हाम्रो गोठमा ३ सय भेडाहरु छन्, भेडा र साँड उत्पादन गर्न सके जतिपनि विक्रि हुन्छ, म भर्खरै यो पेसामा लागेको हुँ, अझै आम्दानी गर्ने अवस्था आइपुगेको छैन, अरु साथिहरुले एकै पटकमा ३/४ लाखको भेडाहरु विक्रि गर्नुहुन्छ’’–पुनले भन्नुभयो । पुनका साथि कमलले ९ बर्षदेखि र कुमारले तीन बर्षदेखि भेडापालन गर्दै आएका छन् ।
अरुको देशमा गएर पसिना बगाउन भन्दा आफ्नै देशमा पसिना बगाउन मन लागेर भेडापालनमा लागेको पुनले बताउनुभयो । अहिले खयर क्षेत्रमा तीन वटा ठूला गोठ छन् । ती भेडीगोठमा करिब एक दर्जन घरपरिवारले साझेदारीमा भेडापालन गर्छन् । १ हजार ५ सय वटाको सख्यामा भेडाहरु पालन हुँदै आएको खयर क्षेत्रमा भेडापालन गर्दै आएका स्थानीयले जनैपूर्णिमाको अवसरमा मात्रै १० देखि ७० वटासम्म भेडा र साँढ विक्रि गर्दै आएका छन् । यस पटकको जनैपूर्णिमा मेलामा मात्रै स्थानीय भेडापालक कृर्षकहरुले २५० बढी भेडाका साँडको विक्रि गरेका थिए ।
खयर क्षेत्रमा अन्नपूर्ण गाउँपालिका–१ दोबाका धन पुर्जाले समेत वैदेशिक रोजगारलाई त्योगेर भेडापालन सुरु गर्नुभएको छ । १२ बर्षसम्म विदेशमा पसिना बगाउनुभएका पुर्जाले तीन महिनादेखि १७२ वटा भेडा खरिद गरेर व्यावसायिक भेडापालन सूरु गर्नुभएको हो । ‘‘ पहिले पनि गाउँमा पुख्यौली भेडापालन गर्थे, भेडीगोठ बेचेर साउदी गएँ, त्यहाँबाट फर्किएपछि मलेसियामा पनि गएँ, तर सोचेजस्तो कमाई भएन, बरु यतै केहि गरौँ भनेर भेडापालन पेसामै फर्किएको हुँ’’–पुर्जाले भन्नुभयो ।
हिमाली क्षेत्रमा पालन गरिएका भेडाहरुको खरिदका लागि शहरी र ग्रामीण क्षेत्रका उपभोक्ता गोठसम्म पुग्ने गरेका छन् । विभिन्न पुजाआजामा बलि दिन र मासुका लागि भेडीगोठनै पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका–८ नाँगीका हेमबहादुर तिलिजा पुनले बताउनुभयो । यस क्षेत्रमा घुम्ती गोठको रुपमा भेडापालन हुदै आएको छ । खासगरि लेकाली क्षेत्रको चरनमा हुर्कने भएकाले मासुका लागि भेगीगोका भेडाको माग अत्यधिक हुने गरेको छ । परम्परागत रुपमा हुँदै आएको भेडापालनलाई व्यवसायिक र व्यवस्थित बनाउनका लागि गाउँपालिका र भेटेरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समेत अनेदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l