मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया

  • ७ भाद्र २०७९, मंगलवार
  • धिरन खत्री
  • 675 पटक पढिएको

बेनी, ७ भदौ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामवली अद्यावधिक (दावी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार जिल्ला समन्वय समितिका सभाहलमा भएको कार्यक्रममा निर्वाचन मिति घोषणा भइसकेपछि बिगत देखि सङ्कलन भएको मतदाता नामवलीलाई आगामी निर्वाचनमा समावेश गर्नको लागि मतदाता नामावली अद्यावधिक सम्वन्धी जानकारी गराईएको हो ।


मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्नका लागि मतदाताको बसाईसराई, मृत्यु, दोहोरो नामावली भएकाले दावि विरोध मार्फत सच्याउनका लागि आयोगले मतदातालाई आग्रह गरेको छ । आयोगले मतदातालाई भदौ १३ गतेदेखि १६ गतेसम्म दावि विरोध गर्नका लागि समय दिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरे बताउनुभयो । सो समयमा प्रकाशित मतदाता नामावली हेरेर दावि विरोधका लागि मतदाताले जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, स्थानीय तहको केन्द्र र वडा कार्यालयमा निवेदन दिन पाउने ब्यवस्था रहेको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो ।


अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले मतदाता नामावालीको दावि विरोध गराउने समयमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, पत्रकार लगायत सबैले सहयोग गर्न आग्रह गर्नुभयो । जिल्ला न्याधिश कृष्णप्रसाद नेपालले निर्वाचनमा मतदान गर्ने अवसरलाई सदुपयोग गर्नका लागि मतदाताले भदौ १३ देखि १६ गतेसम्म प्रकाशन हुने मतदाता नामावालीमा दावि विरोध गर्न आग्रह गर्नुभयो ।

अन्तरक्रियामा नेपाली कांग्रेसका सचिव भरत रकालले निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउन आयोगलाई आग्रह गर्नुभएको छ । उहाँले मतदाताको नागरिकता नम्वर हान्दा ब्यक्तिको मतदाता नामावली कहाँ कहाँ छ भनेर थाहा पाउने प्रविधिको प्रयोगतर्र्फ निर्वाचन कार्यालयले सोच्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिका मेयर सुरज केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, धवलागिरी गाउँपालिका उपाध्यक्ष रेशम पुन, नेकपा एमालेका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल लगायतको उपस्थित रहेको अन्तरक्रिया कार्यक्रमको संचालन निर्वाचन कार्यालयका नायव सुब्वा चित्रनाथ शर्माले गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l