पर्यटकीय स्थल खोप्रामा लजको क्षमता विस्तार

  • ७ भाद्र २०७९, मंगलवार
  • 505 पटक पढिएको

कमल खत्री
म्याग्दी,७ भदौ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत पर्ने म्याग्दीको पर्यटकीय स्थल खोप्रामा पर्यटकहरुका लागि आवास सुविधाको क्षमता विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित खोप्रामा पाउद्धार पर्यटन सहकारीले लजको क्षमता विस्तार गरेको हो । २० वटा कोटामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकोमा सहकारीले थप ८ कोठा क्षमताको आवास भवन निर्माण गरेको हो । सुविधायुक्त आवास भवन बनाउन डिभिजन वन कार्यालयले गत बर्ष रु १३ लाख बजेट उपलब्ध गराएको र यस बर्ष सहकारीले रु साढे २८ लाख खर्च गरेको सहकारीका संस्थापक अध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो ।

 

वडा अध्यक्ष समेत रहनुभएका तिलिजाका अनुसार, उक्त भवनको जग निर्माण गर्न फ्रान्सेली नागरिकले समेत रु ६५ लाख बढी लगानी गरेका थिए । बढी खर्चिलो भएर फ्रान्सेली नागरिकले बिचैमा भवन निर्माण गर्न छाडेपछि पर्यटन सहकारीले अगुवाई गरेर भवनलाई पूर्णता दिएको जनाएको छ ।
यसअघि पाउद्वार मावि र हिमाञ्चल मावि सञ्चालनको लागि खोप्रा लेकमा सञ्चालन गर्दै आएको सामुदायिक होटललाई दुई बर्षदेखि भने पर्यटन सहकारी मातहत ल्याईएका छ । पर्यटनको लाभ समुदायमा पु¥याउन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अवधारणा अनुसार नेपालमै पहिलो पटक सहकारी मार्फत होटल सञ्चालनमा ल्याईएको हो ।


खोप्रालेक समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग समेत पुनकै नेतृत्वमा सञ्चालनमा ल्याइएको थियो । खोप्राको होटललाई हिमाली क्षेत्रमा समेत धुँवारहित बनाउने अवधारणा अनुसार अघि बढाइएको छ । पाउद्धार पर्यटन सहकारीमा १५० जना बढी शेयर सदस्य आबद्ध भएका छन् भने प्रति शेयर सदस्यहरुले रु २५ हजारदेखि ३ लाख सम्म लगानी गरेका छन् ।

पाउद्धार गाउँका स्थानीयबासी संगै गाउँबाट बेनी, पोखरा लगायतका स्थानमा बसोबास गर्नेहरुले समेत उक्त सहकारीमा लगानी गरेका छन् ।
शेयर सदस्य मार्फत संकलन भएको शेयर रकमलाई पर्यटन पूर्वाधार विस्तारमा लगानी गर्न थालिएको छ । अहिले रु ९१ लाख शेयर पुँजी मौज्दात रहेको छ । सहकारीले तीन जना कर्मचारी नियुक्त गरि नियमित रुपमा खोप्रामा होटल सञ्चालन गरिरहेको छ । सिजनको समयमा पर्यटकहरुको चाप बढी हुने गरेको होटलका कर्मचारी आदेश तिलिजाले बताउनुभयो ।

उहाँले यस बर्ष बर्खायामबाट नै पर्यटकहरुको आगमन भएको बताउनुभयो । ‘‘थप भएको कोठाहरुमा समेत गरि दैनिक ६० जना सम्मलाई आवास सुविधा उपलब्ध गराउने क्षमता भएको छ, यहाँको भ्रमणमा आउनु अगाबै आफ्नो बुकिङ गरेमा यात्रा सहज र बसोबास आरामदायि गराउन सहज हुन्छ, अहिले बाह्य पर्यटकहरु संगै आन्तरिक पर्यटकहरुको चाप बढ्दो छ’’–तिलिजाले भन्नुभयो । यहाँ पर्यटकहरुलाई टेन्टमा समेत बस्ने व्यवस्था गरिएको छ ।

भदौदेखि मंसीर र फागुनदेखि जेठ सम्म मुख्य दुई सिजनमा पर्यटकहरुको आगमन बढी हुने खोप्रा पदयात्रामा पर्यटकहरुको घुम्ने अवधि बढाउन स्थानीयबासीले पाउद्धार तातोपानी–गोनपानी–चित्रे–भालखारा–खोप्रा–खयर हुँदै पाउद्धार गाउँ जोड्ने गरि नयाँ पर्यटकीय पदमार्गलाई सञ्चालनमा ल्याउने तयारी गरेका छन् । समुद्री सतहदेखि ३६१० मिटर उचाईमा अवस्थित खोप्रा डाँडाबाट अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जा, चुरेन लगायतका दर्जन बढी हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ ।