म्याग्दीमा छुटेका भूमिहिनको लगत संकलन सुरु

  • ५ भाद्र २०७९, आईतवार
  • धिरन खत्री
  • 587 पटक पढिएको

म्याग्दी, ५ भदौ । म्याग्दीमा छुटेका भूमिहिनको लगत संकलन सुरु भएको छ । पालिकाले वडा कार्यालय मार्फत भूमिहिन दलित, सुकुम्वासी र अब्यवस्थित बसोबासीको लगत संकलन सूरु गरेको हो । राष्ट्रिय भूमि आयोगकोले भदौ १ गते सार्वजनिक गरेको सूचना अनुसार ३५ दिनभित्र भूमिहिन दलित, सुकुम्बासी र अब्यवस्थित बसाबोसीले वडा कार्यालयमा पुगेर निवेदन पेश गर्न आग्रह गरेको छ ।


आईतबार जिल्ला प्रशासन कार्यालयमा भएको अन्तरक्रियामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका सदस्य सचिव नापी अधिकृत तुलसीप्रसाद पौडेलले तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदनबाहेक छुटपुट भएकाको लागि पालिकाको वडा कार्यालयमा पुगेर निवेदन पेश गर्न आग्रह गर्नुभएको छ । उहाँले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुको लगत संकलन लागि फरक–फरक फारमको ब्यबस्था रहेको जानकारी दिनुभयो । २०७७ साल भन्दा अघि निवेदन दिनुभएका भूमिहिनले जिल्ला समितिमा सम्पर्क गर्नुपर्नेे छ । भदौ १ गते आयोगले प्रकाशन गरेको सूचना अनुसार छुटेका भूमिहिनले वडामा निवेदन पेश गर्न आग्रह गरेको छ ।

आयोगले उपलब्ध गराएको फरक फरक ढाँचाको फारम सहितको विवरण भरेर वडा कार्यालयले संकलन गरी स्थानीय पालिकामा पठाउनेछ । पालिकाले निवेदन प्रमाणित गरी आयोगमा पठाउने व्यवस्था रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति म्याग्दीका सदस्य खुमनाथ सुवेदीले जानकारी दिनुभयो । यसका लागि कर्मचारी व्यवस्थापनको काम सम्बन्धित पालिकाले गर्दै आएको उहाँको भनाइ छ ।

भूमिहिन आयोगले तोकेको ढाचाँ बमोजिम निवेदन संकलन गर्न बेनी नगरपालिका, मंगला, रघुगंगा, मालिका, अन्नपूर्ण र धवलागिरीलाई आग्रह गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अब्यवस्थित बसोबासीलाई ब्यवस्थापन गर्ने सम्वन्धमा गत असार २१ गते म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता भएको छ । स्थानीय तहले त्यो सूची प्रमाणित गरेर पठाएपछि आयोगले नापी कार्यालय सँगको समन्वयमा जग्गा नाप गरी प्रमाणीकरणको काम गर्ने प्रक्रिया अघि बढाउने छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l