धवलागिरिमा मेला महोत्सवलाई व्यवस्थित बनाईने

  • ३ भाद्र २०७९, शुक्रबार
  • 493 पटक पढिएको

म्याग्दी ३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिकाले स्थानीय स्तरमा आयोजना हुने मेला पर्व र महोत्सवहरुलाई व्यवस्थित बनाउन पहल थालेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विहिवार जनप्रतिनिधि र पालिकाभित्र रहेका युवा क्लबहरुबिच अन्तरक्रिया कार्यक्रम गरि मेला महोत्सवलाई व्यवस्थित बनाउने कार्यको थालनी गरेको हो ।
कार्यक्रममा गाउँपालिकाभित्र युवा क्लबहरुले विभिन्न पर्वहरुको अवसरमा आयोजना गर्दै आएको मेलाहरुको वर्तमान अवस्था र त्यसलाई व्यवस्थित बनाउनका लागि कार्यान्वयन गर्नुपर्ने मापदण्डका बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले २०७६ सालमा जिल्ला स्थित सरोकारवाला निकायको सहभागीतामा निर्माण गरेको मेला तथा महोत्सव सम्बन्धी मापदण्डमा व्यवस्था गरिएका प्रावधानहरुको बारेमा व्यापक छलफल भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रमबाट प्रशासन कार्यालयबाट बनेको मापदण्डको कार्यान्वयन गर्दै स्थानीय स्तरको मेला महोत्सव सञ्चालनका लागि गाउँपालिकाले कार्यविधि समेत निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले स्थानीइ स्तरमा खेल प्रतिभाको पहिचान र कला संस्कृतिको संरक्षण र स्थानीय उत्पादानको प्रवद्र्धन गर्ने कार्यमा टेवा पु¥याउने गरि मेला पर्वलाई सञ्चालन गर्नुपर्ने बताउँदै मेला पर्वका नाममा परम्परागत रुपमा हुँदै आएका विकृतिहरुलाई हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा धवलागिरि गाउँपालिका–१ का वडा अध्यक्ष झकबहादुर छन्त्याल, वडा ३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोका, वडा नम्बर ६ मराङका अध्यक्ष राजाराम उपाध्याय, वडा नम्बर ७ ताकमका अध्यक्ष अशोक खत्री लगायतले समेत मेला पर्व सञ्चालन गर्दा अहिले प्रचलनमा रहेका हानिकारक र नकरात्मक पक्षलाई हटाउँदै मेला पर्वलाई व्यवस्थित गर्न अवलम्बन गर्नुपर्ने मापदण्डहरुको बारेमा क्लबका प्रतिनिधिहरुलाई अवगत गराउनुभएको थियो । कार्यक्रममा क्लबका प्रतिनिधिहरुले खेल प्रतिभाको पहिचान र कला संस्कृतिको संरक्षण संगै स्थानीय स्तरमा मनोरञ्जनका लागि क्लबहरुले आयोजना गर्ने मेला पर्वहरुको लागि गाउँपालिकाले समेत बजेट व्यवस्थापन गर्नुपर्ने भन्दै ध्यानकर्षण गराएका थिए ।