श्रीकृष्ण जन्माष्टमी पर्वमा ‘राधाकृष्ण’ को रथयात्रा

  • ३ भाद्र २०७९, शुक्रबार
  • धिरन खत्री
  • 711 पटक पढिएको

म्याग्दी, ३ भदौ । श्रीकृष्णको जन्माष्टमीको पर्वको अवसरमा बेनीमा ‘राधाकृष्ण’को रथयात्रा गरिएको छ । लिटल गार्डेन एकडेमीले शुक्रबार विहान बेनी बजारमा राधाकृष्णको रथयात्रा निकाले छ। श्रीकृष्णको बाल्यकालको अवस्थालाई चित्रण गर्दै लिटल गार्डेन एकेडमीले अध्ययनरत स–साना बालबालिकालाई राधा कृष्ण बनाएर भजनकृतनसहित बजारमा रथयात्रा गरेका छन् ।


आजका दिन भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।


बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवीय प्रवृत्तिको सम्हार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा जिल्लामा रहेका कृष्ण मन्दिर, विभिन्न धार्मिक संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभा यात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l