गलेश्वर मन्दिरमा एक महिनामा रु १९ लाख भेटी सङ्कलन

  • १ भाद्र २०७९, बुधबार
  • 868 पटक पढिएको

म्याग्दी १ भदौ ।

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा एक महिनाको अवधिमा करिब १९ लाख भेटी संकलन भएको छ । यस बर्ष साउन महिनाका पाँच वटा सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएको भेटी रकमबाट रु १८ लाख ७० हजार दुई सय ५३ भेटी सङ्कलन भएकोे गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । पहिलो सोमबार रु. तीन लाख ३९ हजार पाँच सय ५६, दोस्रो सोमबार रु तीन लाख १८ हजार तीन सय ३२, तेस्रो सोमबार रु तीन लाख सात हजार १३, चौथो सोमबार रु चार लाख ६१ हजार चार सय २३ र पाँचौँ तथा अन्तिम सोमबार रु चार लाख ६८ हजार नौ सय २९ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिनुभयाे  । साउन महिनाको हरेक सोमबार भक्तजनहरुले चढाएको भेटी छुट्टाछुट्टै रुपमा संकलन गरि गन्ने गरिएको छ ।
कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चक्रशिलामा अवस्थित गलेश्वर मन्दिर परिसरमा कहिल्यै पानी नसुक्ने पोखरी छ । द्धापरयुगमा सतिदेवीको गलापतन भएको धार्मिक मान्यता रहेको गलेश्वर मन्दिरमा साउने सोमबारका अतिरित्त बालाचर्तुदर्शी र शिवरात्रिमा समेत भक्तजनहरुको बिशेष मेला लाग्ने गर्छ भने नियमित रुपमा समेत यहाँ भक्तजनहरुको बाख्लो उपस्थिति रहँदै आउको छ । यस बर्ष साउन महिनाको पाँच वटा सोमबारमा मात्रै १ लाख २५ हजारको हाराहारिमा भक्तजनहरु आएको अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका अध्यष माधनप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

यस बर्ष म्याग्दी, पर्वत, बागलुङ, कास्की, गोरखा, चितवन, नवलपुर, नवलपरासी, काठमाण्डौ, लगायतका जिल्लाका साथै भारतबाट भक्तजनहरु आएको कोषले जनाएको छ । साउन महिनाको सोमबार ब्रत बसेर, कालीगण्डकी स्नान र शिवालयमा चल चढाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कोषका अध्यक्ष रेग्मीका अनुसार , संस्थाको विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल रु तीन करोड नौ लाख ४९ हजार पाँच सय ८८ मौज्जदात छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु १० करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएको कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।