खयर भारानीमा धार्मिक पर्यटकको आगमन बढ्यो (फोटो फिचर)

  • २९ श्रावण २०७९, आईतवार
  • कमल खत्री
  • 867 पटक पढिएको

बेनी, २९ साउन : अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको प्रसिद्ध धार्मिक स्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ । जनैपूर्णिमाको अवसरमा बिशेष पुजाआजा हुने यस क्षेत्रमा अहिलेसम्मकै धेरै धार्मिक पर्यटकहरु पुगेका छन् ।
जिल्ला सदरमुकाम बेनी बजारदेखि तीन दिनको यात्रामा पुग्न सकिने खयर भारानीमा पुजाआजा र भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । समुन्द्री सतहदेखि करिब ४ हजार ७ सय मिटर उचाईमा अवस्थित खयर भारानी थान र खयर तालमा पुजा र भाकल गर्नका लागि यस पटकको जनैपूर्णिमाको समयमा मात्रै ७ सय बढी भक्तजन पुगेको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष भिमबहादुर तिलिजा पुनले बताउनुभयो ।


कोषका अनुसार, खयर भारानीमा यस बर्ष म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी, काठमाण्डौ लगायतका ठाउँबाट समेत भक्तजनहरु उल्लेख्य रुपमा आएका थिए । खासगरि सन्तान नभएका, रोकिएका काम, सु–स्वास्थ्य लगायतका भाकल गर्नेहरु यहाँ पुग्ने गर्छन् । खयर भारानी थानमा पुजा र खयर तालमा भाकल गरेर बर मागेकाहरुले आफ्नो मनोकांक्षा पुरा भएपनि पुनः खयर भारानीमा पुगेर आफुले भाकल गरेर बर मागे बमोजिमको पुजा गरी बर फिर्ता गर्ने चलन रहेको खयर भारानीका अभियान्ता राजु पुनले बताउनुभयो ।


‘‘ सन्तान नभएकाहरु धेरैले यहाँ भाकल गरेपछि सन्तान पाउनुभएको छ, रोकिएका कामहरु समाधान भएको भनेर धेरैले खुसी व्यक्त गर्नुहुन्छ, त्यसैले हरेक बर्ष यहाँ आउने भक्तजनहरुको संख्या बढ्दै गएको छ’’–पुनले भन्नुभयो । यहाँ बर्षौ पहिले भाकल गरेकाहरु आफ्नो मनोकांक्षा पुरा भएपछि पुनः पुजा र भाकल फिर्ताको लागि समेत पुग्ने गर्छन् । खयर भारानीमा पुगेर भाकल गरेपछि मनोकांक्षा पुरा भएपनि विविध कारणले २० बर्षपछि पुनः खयर भारानीमा आएको रघुगंगा गाउँपालिका–२ की निर्मला भण्डारीले बताउनुभयो ।


पोखरा फुलवारीबाट ४ दिन लगाएर खयर भारानी पुग्नुभएका हितबहादुर गर्वुजाले आफ्नो छोराको लाहुरेमा भर्ति हुने सपना साकार होस भनेर भाकल गरेको बताउनुभयो । ‘‘धेरैबाट खयर भारानीले पु¥याउने गरेको कुरा सुने, छोराको सपना पुरा होस भनेर यहाँ आएर भाकल गरेको छु, यहाँ आएका धेरैले आफ्नो मनोकांक्षा पुरा भएको अनुभव सुनाउनुभएको छ, भाकल पुरा भएपछि फेरी आउँछु’’–गर्वुजाले भन्नुभयो ।


बिगतका दुई बर्षमा कोरोना महामारीको कारण भाकल गर्न र भाकल पुरा भएपछि बर फिर्ता गर्न नपाएको कारण यस बर्ष उल्लेख्य रुपमा भक्तजनहरुको आगमन भएको कोषले जनाएको छ । पहाड र जंगलको बाटो हुँदै हिमालको फेदीमा रहेको खयर भारानी थान र खयर तालमा पुग्न पछिल्लो समय पाउद्धारदेखि खोप्रा–खयरखोला हुँदै खयरलेक सम्म नै पदमार्ग, चौतारा र खानेपानीको धारा निर्माण गरेपछि भक्तजनहरुलाई सहज भएको छ ।


पाउद्धार–खोप्रा–खयरखोला हुँदै खयरलेक सम्मको करिब तीन दिनको पदयात्राको बाटोमा समुदायकै अग्रसरता र लगानीमा पदमार्ग, चौतारा र खानेपानीको धारा निर्माण लगायतका पूर्वाधारहरु निर्माण गरिएको छ । भक्तजनहरुको सुविधाको लागि खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषले खोप्रा र खयरखोलामा अस्थायी आवासगृह सहित खाना र खाजाको समेत बन्दोबस्त मिलाएको कोषका व्यवस्थापन संयोजक मिनबहादुर तिलिजा पुनले बताउनुभयो ।


‘‘ हिमालको काखमा रहेको थानमा पुग्न हिजोका दिनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो, अहिले अधिकाँश जोखिमयुक्त ठाउँमा पदमार्ग बनिसकेको छ, बाँकी ठाउँमा पनि पदमार्ग बनाउने योजना अघि बढीरहेको छ, जनैपूर्णिमामा मात्रै नभएर अन्य समयमा समेत भक्तजन र पर्यटकहरु यस क्षेत्रमा आउने प्रचलन बढीरहेको छ, खयरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने अभियानले सार्थकता पाउँदै गएको छ’’–उहाँले भन्नुभयो । आँखै अगाडी देखिने हिमाल, डाँडाकाँडा र हिमाली भू–वनोट खयर पदमार्गको थप आकर्षण हो । खयर पदमार्गबाट अन्नपूर्ण, धौलागिरी, निलगिरि, बराह शिखर, गुर्जा, चुरेन लगायतका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोकांक्षा पुरा हुने र रमणीय प्राकृतिक सौन्दर्यमा घुमफिर र रमाउनका लागि हरेक बर्ष खयरक्षेत्र पुग्नेको संख्या बढ्दै गएको छ ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l