मागेको बर पु¥याउने नाङ्गी बराहनी माता

  • २९ श्रावण २०७९, आईतवार
  • 943 पटक पढिएको

 

म्याग्दी, २९ साउन । जंगलको बीचमा सानो पोखरी, छेउमै नाङ्गी बाराहनी माताको मन्दिर । सोही पोखरीमा डुबेका दुई मगर जातका कुमार पुजारी । छउँमै बसेका मगर पुजारीले भक्तजनको कुरा सुनेपछि चिच्चाउदै भन्नुहुन्छ ‘फलानो व्यक्तिले चाहेको मनोकामना पुरा गराइदेउ नाङ्गी बराहनी माता ।’ त्यसपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुवेर भक्तजनलाई हिलो दिए भक्तजनहरु नबोली हिलो प्लाष्टिकमा राखेर एक किलोमिटर टाढा पुग्नुभयो ।

उक्त दृश्य हो म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ मा अवस्थित नाँगी बराही मन्दिर परिसरको । भक्तजनहरुले मागेको बर पुरा गर्ने मनोकांक्षाका साथ उक्त मन्दिरमा वर्षेनी पुग्ने भक्तजनहरुको संख्यामा वृद्धि भइरहेको छ । वर्षमा एक पटक श्रावण शुक्लपक्ष जनैपूर्णिमाका दिनमात्रै विशेष पुजा आजा हुँने नाङ्गी बराहनी माताको पछिल्लो समय भक्तजनहरुको ओइरोनै लाग्ने गरेको छ । कतिपयले बर माग्ने र कतिले मागेको बर पुरा भएपछि बर फिर्ता गर्न त्यस स्थानमा जनैपूर्णीमाको दिन पुग्ने गरेका छन् ।

तालको हिलो समातेर भक्तजनपछि नफर्कीकन घर र्फकर्ने र चाहेको कुरा पूरा भएमा पुनः भाकल गर्न र भाकल फिर्ता गर्न त्यहाँ पुग्ने गरेका छन् । तालमा भक्तजन पुगेपछि मगर समुदायका पुजारीले तलाउमा चुरलुम्म डुवेर हिलो दिने चलन रहेको छ । पारिवारिक सुख, सम्पत्ति, सन्तान लाभ, रोजगारी, सुस्वास्थ्य लगायतका मनोकांक्षा पूरा हुने जनविश्वास लिएर विभिन्न क्षेत्रबाट गएका भक्तजनहरुले मन्दिरमा बर माग्ने चलन रहेको स्थानीय रमन पुनले जानकारी दिनुभयो ।

‘प्रकृति पूजागर्नेहरुको समुदायले परम्पराकालदेखिनै पूजा आजा गर्दै आएको नाङ्गी बराहनी माताको महिमा बढ्दै गएको थियो, प्रचार प्रसार र सडक सञ्जालको पहुँचका कारण अहिले विभिन्न स्थानबाट भक्तजनहरु यहाँ बर माग्न आउने गरेको र बर मागेका अधिकांशले आफूले चाहेको बर पुरा गरेको भन्दै आफ्नो क्षमता अनुसार बोका, परेवा र नविल लिएर बलि दिन आउने चलन छ” पुनले भन्नुभयो “एउटा विश्वासको अस्था हो नाङ्गी बराहनी माता, भक्तजनहरुले विश्वास लिएर टाढा—टाढा बाट आउनुहुन्छ, धेरैले मागेको बर पुरा भएको बताउनुहुन्छ, हामी झनै उत्साहित छौं, मन्दिर परिसरको पूर्वाधार निर्माणमा स्थानीयकै सक्रियता छ ।’

आफूले चाहेको पुरा गर्ने विश्वासका साथ नाङ्गी बराहनी माताको दर्शन गर्न आएको पर्वत जिल्ला स्थित जलजला गाउँपालिका–४ का विशाल पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–८ का वडा अध्यक्ष खम बहादुर गर्बुजा पुनले स्थानीय जनताको सक्रियतामानै नाङ्गी बराहनी माताको प्रचार प्रसार तथा पूर्वाधार निर्माण गरिएको बताउनुभयो । उहाँले आगमी दिनमा वडाले समेत सक्दो सहयोग गर्ने बताउनुभयो । उक्त गाउँ राष्ट्रिय आविश्कार केन्द्रका सञ्चालनक तथा परिकल्पनाकार महाविर पुनको गाउँ भएकाले प्रचार प्रसारमा सहयोग पुगेको स्थानीयको भनाई छ ।

मन्दिर र मन्दिर नजिकैको प्राकृतिक तालका कारण मन्दिर प्रसिद्ध भएको हो । मगर पुजारी रहेको नाङ्गी बराहनी माता मन्दिरमा बोका, परेवा, नरिवल मात्रै चढ्ने गरेको छ । उक्त बर लिएपछि पछाडि समेत नफर्किकन तालदेखि तल ढोकाद्वारे देवताको थानसम्म झर्नुपर्ने परम्परा रहेको छ ।
आफ्नो मनकामना पुरा भएपछि पुनः वर्षदिनमा उक्त मन्दिरमा दर्शन गर्न जानेको संख्या पनि अत्यधिक बढेको छ ।

जनैपूर्णिमामा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, गोरखा, नवलपुर र चितवनलगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु नाङ्गी बराहनी माताको मन्दिर दर्शन र पुजाआजा गर्न आउने गरेका छन् । मनोकामना पुरा हुनेहुँदा नाङ्गी बराहनी माताको दर्शन गर्न र उनीसमक्ष वर माग्न आउने गरेको भक्तजनहरु बताउँछन् ।

यस्तै सोही गाउँपालिकाकै वडा नम्बर–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा समेत मन्दिर नजिकै रहेको तालमा पुगेर चिच्चाएर आफ्नो इच्छा अनुसार माग्ने गरेका छन् । यहाँ हरेक बर्ष जनैपूर्णिमाको दिन पुजा हुन्छ ।