विदेशबाट फर्किएर राजनीति र पशुपालन संगसंगै (भिडियो र तस्वीर)

  • २४ श्रावण २०७९, मंगलवार
  • 673 पटक पढिएको

बेनी, २४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका कुलप्रसाद पुर्जा । ४६ बर्षिय पुर्जाले रोजगारको सिलसिलामा १२ बर्षसम्म मलेसियामा पसिना बगाउनुभयो । बर्षौसम्म विदेशमा मेहनत गर्दा समेत घरपरिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा लाग्नुभएको छ । पुर्जाले प्रवासबाट गाउँ फर्किएर पशुपालन पेसा मात्रै अंगाल्नुभएको छैन, राजनीतिलाई समेत संगसंगै अगाडी बढाउनुभएको छ । ठुला व्यापार व्यवसाय गर्नेहरु मात्रै होइन, किसानहरु समेत राजनीति मार्फत समाज रुपान्तरणको अभियानमा लाग्न सक्छन भन्ने सन्देश पुर्जाले दिनुभएको छ ।

 

 

दोवाको वेशीमा दोवावेशी बाख्रापालन फर्म स्थापना गर्नुभएका पुर्जा निवर्तमान वडा सदस्य समेत हुनुहुन्छ । वडा सदस्यमा निर्वाचित भएर पाँच बर्षसम्म सामाजिक कार्यहरुमा सक्रिय बन्नुभएका पुर्जा हाल नेकपा एमाले दोवाको वडा कमिटीको अध्यक्ष समेत हुनुहुन्छ । वडा सदस्यको कार्यकाल सकिएपछि अधिकाँश समय पाख्रापालनमै खर्चिन थाल्नुभएका पुर्जाले समय व्यवस्थापन गरेर पार्टी संगठनको कामलाई अघि बढाउने गरेको बताउनुभयो ।


‘‘विदेशमा गएर पसिना बगाए, तर परिवारको घरखर्चको जोहो गर्ने बाहेक केहि भएन, भनेजस्तो तलब नपाईने भएपछि विदेश छाडेर अब आफ्नो गाउँमै केहि गरौँ भन्ने अठोटले बाख्रापालनमा लागेको हुँ’’–पुर्जाले भन्नुभयो । २ वटा पैचो बाख्रा लिएर बाख्रापालन सुरु गर्नुभएका उहाँको फर्ममा अहिले ६० वटाको हाराहारीमा बाख्राहरु छन् । एक बर्षभित्रमा बाख्राको संख्या १०० पु¥याउने पुर्जाको योजना छ । एक बर्षमा १ लाख बराबरको खसी,बोकाहरु विक्रि भएको बताउँदै पुर्जाले फर्ममबाट उत्पादन भएका बोका र बाख्राहरुको लागि बजारको अभाब नभएको र माग पु¥याउन नसकेको बताउनुभयो ।

दोवालाई बाख्रापालनको पकेट क्षेत्र समेत घोषणा गरिएको छ । पुर्जाको हजुरवुवाले परम्परागत रुपमा भेडापालन गर्दै आउनुभएको थियो । त्यस समयमा उत्पादित भेडाहरुको बजारीकरणमा समस्या हुने गरेको स्मरण गर्दै पुर्जाले अहिले भेडा, बाख्रा पालनको लागि बजारको अभाब नहुने अनुभव सुनाउनुभयो ।


पुर्जालाई फर्ममा उहाँकी पत्नी कुमारीले सघाउनुहुन्छ भने एक जनालाई नियमित रोजगारि समेत दिनुभएको छ । फर्ममा स्थानीय र उन्नत जातका बाख्राहरुको पालन हुने गरेको छ । बाख्रापालन संगै भैसीपालन समेत गर्दै आउनुभएका पुर्जाको फर्ममा ३ वटा भैसी छन् । उहाँले बेशी नजिकैको सुनारीमा बार्षिक रु २० हजार भाडा तिर्ने गरि जग्गा भाडामा लिएर बंगुर र माछापालन समेत गर्ने तयारी गर्नुभएको छ ।