साहित्यकार सञ्जय श्रेष्ठको ‘तिम्रै यादमा’ गीति सङ्ग्रह विमोचन

  • १६ श्रावण २०७९, सोमबार
  • 497 पटक पढिएको

म्याग्दी १६ साउन । म्याग्दीका साहित्यकार सञ्जय कुमार श्रेष्ठको दोस्रो कृति ‘तिम्रै यादमा’ गीति सङ्ग्रहको विमोचन गरिएको छ । आईतवार श्री कृष्ण गण्डकी जेष्ठ नागरिक सेवा केन्द्र बेनीले आयोजना गरेको कार्यक्रममा बेनी नगरपालिका वडा नम्वर ८ का अध्यक्ष उत्तम कुमार कर्माचार्य, सेवा केन्द्रका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठ, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्मा र पौलस्त्य साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर बानियाँले संयुक्त रुपमा उक्त कृतिको विमोचन गर्नुभएको हो ।

साहित्यकार एवम् कलाकार श्रेष्ठको यसअघि ताली र गाली लघु कथा सङ्ग्रह प्रकाशित भएको थियो । आफ्नो जीवनको करिव ४४ बर्ष शिक्षण पेशामा विताउनुभएका श्रेष्ठ जिल्लाका अग्रज कलाकार समेत हुनुहुन्छ ।

उहाँले रेल पुग्यो बम्बईमा, भेट भयो सलल, दोभान व्याण्डको पहिलो नजर र जिस्की नहिड, जस्ता लोकपप गीतहरु सृजना गर्नुभएको छ । साहित्यकार श्रेष्ठले भावि दिनहरुमा पनि सृजनालाई निरन्तरता दिने बताउँदै पुस्तक प्रकाशनमा सहयोग गर्ने सम्पूर्णलाई आभार प्रकट गर्नुभएको छ । श्रेष्ठले प्रकाशन गर्नुभएको उक्त गीति सङ्ग्रहको साहित्यकार राम प्रसाद सुवेदीले समालोचना गर्नुभएको थियो ।

जेष्ठ नागरिक सेवा केन्द्रले श्रावण १५ गतेको अवसर पारेर खिर खाने तथा पुस्तक विमोचन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा वडा अध्यक्ष कर्माचार्य, साहित्यकार अजयमिलन श्रेष्ठ, सेवा केन्द्रका उपाध्यक्ष नैनकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।