रघुगंगाको पत्रकार सम्मेलनः तथ्यहिन आरोप लगाएर गाउँपालिकाको बदनाम गर्ने प्रयास भयो (भिडियो)

  • १६ श्रावण २०७९, सोमबार
  • 543 पटक पढिएको

म्याग्दी १५ साउन । म्याग्दीको रघुगंगा गाउँपालिकाले फलफुलका विरुवा खरिद, विभिन्न सामाग्री खरिद र डिपिआर तयार गर्ने क्रममा सेटिङ र कमिसनको चलखेल भएको आरोपको खण्डन गरेको छ । आइतवार पत्रकार सम्मेलन गरि विभिन्न व्यक्तिले सामाजिक सञ्जाल र केहि मिडिया मार्फत गाउँपालिकामाथि लगाएको आरोप निराधार रहेको र बदनाम गर्ने उदेश्यले विरोधीहरु विरोधमा उत्रिएको भन्दै गाउँपालिकाले खण्डन गरेको हो ।

गत साता रघुगंगा गाउँपालिका–२ का नर्सरी कृषक बालकृष्ण कटुवालले गाउँपालिकाले बाहिरबाट सुन्तलाका विरुवा लिएको र आफ्नो नर्सरीबाट खरिद नगरेको भन्दै गाउँपालिका परिसरमा सुन्तलाका विरुवा फ्याँकेर विरोध जनाउनुभएको थियो । गाउँपालिकाले आह्वान गरेको कोटेसनमा समेत सहभागी हुनुभएका कटुवालको भगवती नर्सरी फर्मले २५ रुपैयाँ दररेट राख्नुभएको थियो । सुन्तला वितरणको कोटेसनहरु मध्ये सबैभन्दा सस्तो मुल्यमा १९ रुपैयाँ ५० पैसामा सुन्तलाका विरुवा उपलब्ध गराउने दररेट पेश गरेको बेनी नगरपालिका ९ को रामकृष्ण कृषि, पशुपंक्षी तथा फलफुल नर्सरी फर्म छनौट भएको थियो ।

कटुवालले उक्त फर्मले बाहिर जिल्लाबाट कम गुणस्तरको विरुवा लिएर विक्रि गरेको आरोप लगाएपछि गाउँपालिकाले सम्बन्धित नर्सरी फर्म, आरोप लगाउने फर्मका सञ्चालक , सञ्चारकर्मी र सरोकारवाला समेतलाई छलफलका लागि पत्राचार गरेको थियो । कार्यक्रममा गाउँपालिकालाई विरुवा खरिदमा चलखेल गरेको आरोप लगाउने कटुवाल भने व्यक्तिगत काम विशेषले जिल्ला बाहिर रहेको कारण देखाएर सहभागी हुन नसक्ने जानकारी गराउनुभएको जनाइएको थियो । उक्त कार्यक्रममा सुन्तलाका विरुवा विक्रि गर्नुभएका रामकृष्ण कृषि पशुपंक्षी तथा फलफुल नर्सरीका सञ्चालक गणेश चोखालले आफुले व्यावसायिक रुपमा नर्सरी सञ्चालन गरेको र फर्मकै विरुवा गाउँपालिकालाई उपलब्ध गराएको बताउनुभयो । उहाँले आफ्नो नर्सरीमा विरुवाको संख्या धेरै भएको र रघुगंगामा मागको सख्ंया धेरै भएकाले आफुले सस्तो मुल्यमा विरुवा विक्रि गरेको बताउँदै आर्थिक चलखेलको पुष्टि गर्न सके गाउँपालिकाले विरुवा खरिद गरेको सबै रकम फिर्ता गर्न तयार रहेको चुनौति दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले खरिद ऐन अन्तरगत कम दररेट कबोल गरेको फर्मबाट विरुवा खरिद गरिएको बताउँदै प्रकृया मिचेर कुनै पनि सामान खरिद गर्ने कार्य नभएको बताउनुभयो । उहाँले कम्प्युटर, सवारी साधन लगायतका सामाग्री खरिदमा पटक पटक सूचना आह्वान गर्दा समेत जिल्लाभित्रका व्यवासायिहरुले विक्रि गर्न दररेट पेश नगर्ने भएकाले बाहिरका जिल्लामा पुगेर सामान खरिद गर्नुपर्ने बाध्यता रहेको समेत बताउनुभयो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाले विकास निर्माण योजनाका ठूला योजनालाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरि संघ र प्रदेश सरकार संग बजेट माग गर्ने कार्य गर्दै आएको बताउँदै डिपिआर भएका योजनामा बजेट आउन थालेपछि विरोधीहरु आत्तिएर तथ्यहिन विरोधमा उत्रिन थालेको बताउनुभयो । गाउँपालिकामा डिपिआर बनाउने जनशक्ति नहुँदा डिपिआर बनाउँदा परामर्श दाताको भर पर्नुपर्ने बाध्यता रहेपनि प्रतिस्पर्धा मार्फत कम दररेटमा काम गर्ने फर्म मार्फत काम गरिएको इन्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो । उहाँले सडकको डिपिआर बनाउँदो प्रति किलोमिटर रु १ लाख ७ हजार सम्म दररेट भएपनि रघुगंगाले प्रतिकिलोमिटर रु ३० हजारमा डिपिआरको काम गरेको बताउनुभयो । लेखा अधिकृत खगराज सुवेदीले अघिल्लो आर्थिक बर्षमा म्याग्दीमै कम बरुजु हुने पालिका बनेको रघुगंगामा भ्रम र्सिजना गर्न महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनलाई गलत व्याख्या गर्न थालिएको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जा, कृषि अधिकृत सविना शर्मा लगायतले समेत बाहिर आएका आरोपहरुको खण्डन गर्दै गाउँपालिकाले सेवा र सामाग्री खरिदमा अपनाउने प्रक्रियाको बारेमा तथ्यहरु प्रस्तुत गर्नुभएको थियो ।