म्याग्दी अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारलाई ७१ लाख बढी भुक्तानी

  • १५ श्रावण २०७९, आईतवार
  • 1165 पटक पढिएको

 

म्याग्दी, १५ साउन । निर्माण व्यवसायीहरुले समयमै काम नसक्ने र निर्माणधीन संरचना अलपत्र पार्ने नेपालमा नौलो हैन । निर्माण व्यवसायीले भवन अलपत्र पारेपछि भुक्तानी रोकेर कार्वाही समेत भएका छन् । तर म्याग्दीको एक अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीलाई सम्झौता भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ ।

म्याग्दीको सदरमुकाम बेनीस्थित ५० शैयाको म्याग्दी अस्पताल निर्माण शुरु भएको ६ वर्ष सम्म सम्पन्न हुन सकेको छैन । अहिले अस्पताल भवन अलपत्र जस्तै छ । ठेक्का सम्झौताको म्याद सकिएको छ । तर त्यही अलपत्र अवस्थाको अस्पताल निर्माण गर्ने निर्माण व्यवसायीलाई सम्झौता भन्दा बाहिर गएर रु.७१ लाख बढी रकम भुक्तानी गरेको पाइएको छ ।


समयमै अस्पताल नसक्ने निर्माण व्यवसायलाई कार्वाहीको सट्टा सम्झौता बाहिर गएर रु. ७१ लाख रकम भुक्तानी भएको छ । भवन अलपत्र पार्ने निर्माण व्यवसायीलाई उल्टै बढी रकम भुक्तानी भएपछि सर्वसाधरणमा आक्रोश पैदा भएको छ । हालै सर्वजनिक महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदनमा सम्झौता विपरित बढी भुक्तानी गरेकाले असुल उपर गर्नुपर्ने बताएको छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वनियमावली २०७७ को नियम ३९(१०) मा सरकारी रकमको खर्च लेख्नु अघि संलग्न कागजात अनुसार भुक्तानी दिन रीत पुगे नपुगेको जाँच गर्नु पर्ने व्यवस्था भएपनि म्याग्दी जिल्ला अस्पताल निर्माण गर्ने निर्माण व्यवसायीलाई घनमिटर दरमा इट्टाको गाह्रो लगाउने सम्झौता भएपनि भुक्तानी गर्दा वर्गमिटरमा नापजाँच गरी रु. ७१ लाख बढी भुक्तानी भएको महालेखाको ठहर छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले आर्थिक वर्ष २०७७/७८ सम्ममा १०७.४० घनमिटरको मूल्य अभिवृद्धि कर समेत रु. १२ लाख ९७ हजार भुक्तानी दिनुपर्नेमा नापी किताव अनुसार ६९५.८९ वर्ग मिटरको हिसाब गरी रु. ८४ लाख ४ हजार भुक्तानी दिएकाले सम्झौता अनुसार बढी भुक्तानी दिएको रु. ७१ लाख ७ हजार असुल उपर गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्माण व्यवसायीलाई आयोजनाले रु. १२ लाख भुक्तानी दिनुपर्नेमा ८४ लाख भुक्तानी दिएकाले रु. ७१ लाख फिर्ता गर्नुपर्ने भनिएको छ ।

सम्झौता भन्दा बाहिर गएर भुक्तानी भएको स्विकादै सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङका प्रमुख सुनिता श्रेष्ठले निर्माण व्यवसायीसंग असुल उपर गर्ने बताउनुभयो । ‘आर्थिक वर्षमा सम्झौतामा घनमिटर मार्फत भुक्तानी गर्ने भनिएपनि वर्गफिटमा मुक्तानी गर्दा समस्या भएको देखियो, यस्मा कार्यालयकोनै कमजोरी छ’ – आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो– ‘हामीले निर्माण व्यसायीलाई पत्र पठाइसकेका छौं, हामीले जसरी भएपनी ७१ लाख असुल उपर गर्नेछौ, भवन निर्माणधीन अवस्थामा रहेकाले उक्त भवनको अन्तिम मुक्तानी गर्ने समयमा भएपनि रकम फिर्ता लिनेछौं ।’

उहाँले निर्माण व्यवसायीले भवन समयमा नबनाएको भन्दै कार्वाही गर्ने चेतावनी समेत दिनुभयो । उहाँले एक पटकलाई चेतावनी सहित काममा बोलाएको भन्दै काम तिब्र गतिमा नगरे म्याद नथप्ने बताउनुभयो । म्याद नथप्ने योजनामा कार्यालय रहेपनि १२ औं सशोधनले थप्ने भनेको छ तर थपेपछि काम तिब्र गतिमा नगरे पुन म्याद नथप्ने श्रेष्ठको भनाई छ । अहिले अस्पताल भवनको ७५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । भवन निर्माणको जिम्मा महादेव खिम्ती–गल्वा–रफिना जेभीलले लिएको छ । खेमराज गौतम, बागलुङ