‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकको चहलपहल

  • १४ श्रावण २०७९, शनिबार
  • धिरन खत्री
  • 1005 पटक पढिएको

 

म्याग्दी, १४ साउन । पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटक केन्द्रित पर्यटन पुर्वाधार निर्माणले ‘लभ्ली हिल’मा आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा अवस्थित पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा दैनिकजसो पर्यटकको उपस्थिति हुने गरेको लभ्ली हिल भ्यू टावर होटलका संचालक मानकाजी घिमिरे बताउछन् । पर्यटन पुर्वाधारसंगै खाजा खानाको होटल सुविधाले शनिबार तथा विदाको दिनमा एक सय भन्दाबढी पर्यटकहरु आउने गरेको होटल संचालन घिमिरेले भने । यहाँ बेनी नगरपालिका, वडा, विभिन्न संघसंस्था, ब्यक्तिले पर्यटक केन्द्रित पुर्वाधार निर्माण गर्दै गरेका छन् ।

सदरमुकाम बेनीदेखि आधा घण्टाको यात्रामा पुगिने पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा शनिबार मनाउन, मर्निङ वाक गर्न, माइन्ड फ्रेससंगै साथीभाइ मिलेर घुमफिर गर्नका लागि ‘लभ्ली हिल’ जाने युवायुवती लगायतको संख्या धेरै छ । ‘लभ्ली हिल’ पुग्नेहरु क्यामेरा तथा मोबाइलमा फोटो, भिडियो र सेल्फी खिच्ने गर्दछन् ।

त्यहाँबाट धौलागिरि हिमाल, सूर्योदय, सदमुकाम बेनीबजार, कालीगण्डकी र म्याग्दीखोलाको संगमस्थल, गलेश्वर, मल्लाज, म्याग्दी र पर्वतको दर्जनौ ग्रामिण बस्तीहरुको दृष्यहरु अवलोकन गर्न पाईन्छ । पर्यटक लक्षित गर्दै स्थानीय होटल सुविधा विस्तार गरेका छन् ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l