म्याग्दीका पालिकाबाट ५० हजार बढी फलफुलका विरुवा वितरण,कुन पालिकामा कति दररेटमा विरुवा खरिद भए !

  • १२ श्रावण २०७९, बिहीबार
  • 663 पटक पढिएको

म्याग्दी १२ साउन । हरेक स्थानीय तहमा कृषि क्षेत्रमा विनियोजन भएको बजेटबाट तालिम र प्रविधि हस्तान्तरण संगै फलफुलका विरुवा समेत वितरण हुँदै आएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा आर्थिक बर्ष २०७८÷०७९ मा सुन्तला, कागती, टिमुर, ओखर, किवी, आँप, लिची लगायतका ५० हजार बढी फलफुलका विरुवा वितरण भएका छन् । एक बर्षमा स्थानीय तहहरुले कुल ५१ हजार ५१५ वटा फलफुलका विरुवा वितरण गरेका छन् । बेनी नगरपालिकाले १४ हजार १९५, रघुगंगा गाउँपालिकाले १२ हजार ७१७, मंगला गाउँपालिकाले ११ हजार ३१०, मालिका गाउँपालिकाले ६ हजार ६९३, अन्नपूर्ण गाउँपालिकाले ६ हजार ६ सय र धवलागिरि गाउँपालिकाले ३ हजार फलफुलका विरुवा वितरण गरेका छन् ।

जिल्लाका सबै स्थानीय तहले पचासदेखि ७५ प्रतिशत अनुदानमा फलफुलका विरुवा वितरण गर्दा सुन्तला र कागतीका विरुवा खरिदमा मालिका र बेनी नगरपालिकाले धेरै मूल्य र रघुगंगाले सबैभन्दा कम मुल्यमा खरिद गरेका छन् । मालिकाले सुन्तलाको विरुवा प्रतिबोट ५० र कागतीलाई ४० रुपैयाँ मूल्यमा खरिद गर्दा, बेनी नगरपालिकाले रु ३३ र रघुगंगा गाउँपालिकाले सबैभन्दा कम प्रतिगोटा रु १९ रुपैयाँ पचास पैसामा विरुवा खदिर गरेको भेटिएको छ । एउटै फर्मबाट कुनै पालिकामा सस्तो र कुनैमा महंगोमा विरुवा खरिद गर्दा आफुहरु समेत समस्यामा परेको कृर्षकहरुको भनाई छ ।

बेनी नगरपालिकाबाट अनुदानमा विरुवा लगाउनुभएका बेनी नगरपालिका–९ का लोकेन्द्र खड्काले पालिकाको खरिद मुल्य बढ्दा किसानले समेत बढी मुल्य तिर्नुपरेको बताउनुभयो ।‘‘ एउटै विरुवामा रघुगंगाका कृषकले कम मुल्य र बेनी नगरपालिकाका कृषकले बढी मुल्य तिर्नुपर्यो, विरुवाको गुणस्तर र मुल्यमा एकरुपता ल्याइदिए कृषकहरु मर्कामा पर्ने थिएनन्’’–उहाँले भन्नुभयो । स्थानीय तहले खरिद गरी वितरण गरेका विरुवाको विवरण सम्बन्धी रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ ।
मालिका गाउँपालिका ः मालिका गाउँपालिकाले कृषकहरुलाई सुन्तला, कागती, टीमुर र किबीका विरुवा ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ ।

वडा नम्बर ४ को वडागत योजनाको रुपमा रु ५ लाख विनियोजन भएको बजेटमध्येबाट गाउँपालिकाले फलफुलका विरुवा खरिद गरेर अनुदानमा वितरण गरेको हो । गाउँपालिकाले सुन्तलाका विरुवा प्रतिगोटा रु ५० मा १ हजार ६ सय विरुवा खरिद गरेर वितरण गरेको छ । वडा नम्बर ४ कै कडेँल अर्गानिक कृषि तथा पशुपन्क्षी फर्मबाट सुन्तलाका विरुवा खरिद गरिएको गाउँपालिकाका कृषि अधिकृत शिक्षित पराजुलिले जानकारी दिनुभयो । त्यसैगरि गाउँपालिकाले १ हजार ११५ वटा कागतिका विरुवा समेत वितरण गरेको छ । बेनी नगरपालिका–९ को रामकृष्ण कृषि पशुपन्छी तथा फलफुल नर्सरीबाट प्रतिबोट रु ४० मा कागतीका विरुवा खरिद गरिएकोे गाउँपालिकाले जनाएको छ ।

मालिकाले बेनीकै रुविना नर्सरी हाउसबाट प्रति विरुवा रु ५७ मा ३ हजार ८६ विरुवा र आत्मनिर्भर पाल्पा फलफुल तथा तरकारी विरुवा उत्पादन नर्सरीबाट प्रति विरुवा २ सयमा ८९२ वटा किविका विरुवा खरिद गरि वितरण गरेको सूचना अधिकारी सोम बहादुर केसीले जानकारी दिनुभयो । किवि र टिमुरमा ३÷३ वटा कोटेसन मार्फत विरुवा खरिद गरेको मालिकाले सुन्तला र कागतीका विरुवा भने सिंधै खदिर गरेको देखिएको छ ।
बेनी नगरपालिका ः बेनी नगरपालिकाले कृषकहरुलाई हिउँदे र बर्खे फलफुलका विरुवा वितरण गरेको छ । हिउँदे फलफुलमा ६८० ओखर र १ हजार ८१३ वटा किविका विरुवा वितरण गरेको नगरपालिकाले बर्खे विरुवाहरुमा सुन्तला, कागती, एभोकाडो,मौसम, लिची, आँप लगायतका विरुवा वितरण गरेको छ । नगरपालिकाले कोटेशन मार्फत न्युनतम मुल्यमा विरुवा उपलब्ध गराउने बेनी नगरपालिका–९ को रामकृष्ण कृषि पशुपंक्षी तथा फलफुल नर्सरी फर्म मार्फत सुन्तला, कागती लगायतका फलफुलका विरुवा खरिद गरेको हो ।


नगरपालिकाले सुन्तला र कागतीका विरुवा ढुवानी सहित प्रतिगोटा रु ३३ मा खरिद गरेर कृषकहरुलाई पचास प्रतिशत अनुदान दिएर वितरण गरेको कृषि शाखाका प्रमुख आकृति ढुंगानाले जानकारी दिनुभयो । नगरपालिकाले सुन्तला ४ हजार ४ सय ६२, कागती ३ हजार ८ सय ६९ , एभोकाडो १०६, मौसम ३ सय ३२ , लिचि १ हजार ५ सय २३ र आँप १ हजार ४ सय १० वटा विरुवा वितरण गरेको जनाएको छ । नगरपालिकाले एभोकाटो २०६ रुपैयाँ ८० पैसा, लिची ८० रुपैयाँ ३० पैसा, आँप १०५, मौसम ३१रुपैयाँ ९० पैसामा खरिद गरेर अनुदानमा वितरण गरेको जनाएको छ ।
रघुगंगा गाउँपालिका ः रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ मा विभिन्न दुई वटा शिर्षकमा विनियोजन भएको रु ३ लाख बजेटबाट कृषकहरुलाई सुन्तला, कागती, लिची र आँपका विरुवा पचास प्रतिशत अनुदानमा वितरण गरेको छ । गाउँपालिकाले सुन्तलाका बिज विरुवा (विउबाट उत्पादन भएका) ६ हजार ७३९ वटा र कलमी विरुवा ९९० वटा, कागतीका बिज विरुवा २ हजार ४९८ वटा र कलमी ८२८ वटा विरुवा वितरण गरेको गाउँपालिकाका कृषि अधिकृत सविना शर्माले जानकारी दिनुभयो ।
गाउँपालिकाले सार्वजनिक खरिद ऐन र नियमावलीमा रहेर सार्वजनिक सूचना आह्वान गरी दररेटमा कम मूल्यमा विरुवा उपलब्ध गराउने फर्मलाई छनौट गरि विरुवा खरिद गरिएको जनाएको छ । पाँच वटा फर्मले सुन्तला र कागतीका विरुवाको दररेट सहितको कोटेशन पेश गरेका मध्ये सबैभन्दा कम मूल्य रु १९ रुपैयाँ पचास पैसामा प्रतिगोटा विरुवा उपलब्ध गराउने दररेट पेश गरेको बेनी नगरपालिका–९ को रामकृष्ण कृषि पशुपंक्षी तथा फलफुल नर्सरी फर्म मार्फत सुन्तला र कागतीका विरुवा खरिद गरि कृषकहरुलाई पचास प्रतिशत अनुदानमा वितरण गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले बेनपा ९ कै प्रशंसा बहुउदेश्यीय नर्सरी फर्मबाट लिची ८१४ र आँच ८४८ वटा विरुवा वितरण गरेको छ ।
अन्नपूर्ण गाउँपालिका ः अन्नपूर्ण गाउँपालिकामा सुन्तला, कागती र किविका विरुवा वितरण गरिएको छ । गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषकहरुलाई सुन्तला ३ हजार २ सय, कागती २ हजार ४ सय र किबी एक हजार बोट विरुवा वितरण गरेको जनाएको छ । सुन्तला र कागतीका विरुवा गाउँपालिकाकै वडा नम्बर ३ फगाममा रहेको स्थानीय नर्सरी सञ्चालकहरुबाट न्यूनतम दररेटमा खरिद गरिएको हो । सुन्तला र कागतीका विरुवाका लागि पाँच वटा फर्मले दररेट पेश गरेकोमा न्यूनतम मुल्यमा विरुवा उपलब्ध गराउने दररेट पेश गरेका प्रगतिशिल मल्टी एग्रो र सुमन मल्टी एग्रो तथा नर्सरी फर्मबाट गाउँपालिकाले विरुवा खरिद गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सम्झना खत्रीले बताउनुभयो । उहाँका अनुसार, गाउँपालिकाले सुन्तला प्रति विरुवा रु २० र कागती प्रति विरुवा रु ३० मा खरिद गरेको थियो । गाउँपालिकाले किबीका विरुवा भने रामेछापबाट आयात गरेर वितरण गरेको हो ।
मंगला गाउँपालिकामा ः मंगला गाउँपालिकाले सुन्तला, कागती र टिमुरका विरुवा वितरण गरेको छ । मंगलाले सुन्तला ८ हजार ९२०, कागती १ हजार ३० र टिमुर १ हजार ३६० वटा विरुवा वितरण गरेको जनाएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा रेशम बुढाथोकीले सञ्चालन गर्नुभएको बरंजा नर्सरी तथा पशुपंक्षी पालन फर्मबाट खरिद गरि गाउँपालिकाले पचास प्रतिशत अनुदानमा विरुवा वितरण गरेको हो । गाउँपालिकाले फलफुलका विरुवा वितरणका लागि रु २ लाख बजेट विनियोजन गरकोमा न्यूनतम दररेट पेश भएको फर्म छनौट गरि विरुवा खरिद गरेको कृषि शाखाका प्राविधिक तारा बानियाँ (जगत)ले जानकारी दिनुभयो । उहाँका अनुसार, न्यूनतम दररेट बमोजिम कागती र सुन्तलालाई प्रतिबोट रु २५÷२५ र टिमुर प्रतिबोट रु ५७ मा खरिद गरिएको थियो । बुढाथोकीको नर्सरी स्थापनामा समेत गाउँपालिका लगायतका निकायले सहयोग गरेका थिए ।
धवलागिरि गाउँपालिका ः धवलागिरि गाउँपालिकाले सुन्तला पकेट क्षेत्र निर्माण गरि सुन्तलाका विरुवा वितरण गरेको छ । वडा नम्बर ३ को सोलबाङ, ४ को बाँसबोट, ६ को कल्लेनी र ७ को मच्छीमदेखि धारापानीको तल्लो भागलाई सुन्तला पकेट क्षेत्र घोषणा गरेर ३ हजार विरुवा वितरण गरिएको छ । गाउँपालिकाले कोटेशन माग गरेर न्युनतम मुल्यमा विरुवा उपलब्ध गराउने दररेट पेश गरेको बरंजा नर्सरी तथा पशुपंक्षी पालन फर्मबाट विरुवा खरिद गरेको गाउँपालिकाका कृषि शाखाका प्रमुख आश्विन खत्रीले जानकारी दिनुभयो । गाउँपालिकाले प्रति विरुवा रु ३० मा सुन्तलाका विरुवा खरिद गरेको उहाँले बताउनुभयो । पकेट निर्माणको लागि रु १२ लाख बजेट विनियोजन भएको मध्येबाटै गउँपालिकाले विरुवा र प्रविधि लगायतमा खर्च गरेको छ । उक्त बजेटबाटै सिंचाईको पाईप, १५ थान हाते ट्याक्टर समेत वितरण गरिएको कृषि शाखाले जनाएको छ । धवलागिरिको वडा नम्बर १ गुर्जामा कृषि विकास निर्देशनालयबाट उच्च घनत्वमा हुने स्वाउका विरुवा समेत वितरण गरिएको छ ।