अनेमसंघ बेनपाको कार्यकर्तालाई प्रशिक्षण सुरु

  • ११ श्रावण २०७९, बुधबार
  • 737 पटक पढिएको

 

म्याग्दी, ११ साउन । अखिल नेपाल महिला संघ बेनी नगरपालिका कमिटीको आयोजनामा आज (बुधवार)देखि सदरमुकाम बेनीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सह–इन्चार्ज नरदेवी पुनले यसअघि एमाले नेतृत्वको सरकारले जनताले प्रत्याभूति गर्ने गरी काम गरेको बताउनुभयो ।कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेले सबैभन्दा धेरै लोकप्रिय मत पाएको बताउनुभयो । उहाँले आउँदो संघ र प्रदेशको निर्वाचनबाट एमाले पहिलो दल बन्ने बताउँदै सोहीअनुसार नेता, कार्यकर्तालाई खट्न आग्रह गर्नुभयो ।

दुई दिनसम्म चल्ने कार्यक्रममा एमाले नेताहरु नरदेवी पुन, बालकृष्ण सुवेदी, थमसरा पुन, यशुदा रोका, हेमकुमारी गर्बुजा र खरमाया बिटालुले सहजीकरण गरिरहनुभएको छ । प्रशिक्षणमा नेपालमा महिला आन्दोलनको इतिहास, अनेमसंघको सङ्गठन र संरचना, राजनीतिमा महिला सहभागिता, अनेमसंघको १४ बुँदे कार्यक्रम, नेता र नेतृत्व, महिला संघ र पार्टीको अन्तर्सम्बन्ध, एमाले सरकारले गरेका कामहरुको बारे प्रशिक्षण गरिने छ ।

कार्यक्रम अनेमसंघ बेनी नगर कमिटीका अध्यक्ष मिना राम्जालीको अध्यक्षता र सचिव उषा किसानको सञ्चालनमा सुरु भएको थियो । प्रशिक्षण कार्यक्रममा अनेमसंघको बेनी नगरपालिका कमिटीमा आबद्ध महिला र अगुवा महिला कार्यकर्ताहरुको सहभागिता रहेको छ ।