म्याग्दीलाई ‘पर्यटन हब बनाउन’ सरोकारवालाहरुविच अन्तरक्रिया

  • ७ श्रावण २०७९, शनिबार
  • 1155 पटक पढिएको

म्याग्दी, ७ साउन । म्याग्दीलाई पर्यटनको हब बनाउने विषयमा सरोकारवालाबीच अन्तक्र्रिया भएको छ। जिल्ला भित्रने पर्यटकको बसाई लब्याउने गन्तव्य खोजी र लगानी वातावरण सिर्जना गर्ने उद्देश्यले सरोकारवालाहरुविच अन्तरक्रिया गरिएको छ ।म्याग्दीको उद्योग वाणिज्य संघको आयोजनामा जनप्रतिनिधि, उद्योगी, ब्यापारी लगायतको उपस्थितमा शाहसिक पर्यटन विकासको सम्भावनाको विषयमा छलफल भएको थियो । गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दी जिल्लाभित्रका पर्यटकीय स्थलमा पूर्वाधार तयार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई रोक्न सकिने बताए । बाहिरबाट आउने पर्यटकलाई मुस्ताङसंगै बेनीको महत्त्व थाहा पाउने उचित संरचना तयार गर्नुपर्ने केसीको भनाइ थियो।


बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आन्तरिक तथा बाह्य पर्यटकले अहिले पछिल्लो समय म्याग्दी र यहाँका पर्यटकीय स्थल थाहा पाउनै छाड्न थालेकोतर्फ सचेन रहनुपर्ने बताए । प्रमुख केसीले स्रोत जुटाउन र आवश्यक पर्ने स्थान पहिचान तथा प्राप्तिका लागि नगरपालिकाले भूमिका खेल्ने जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रमोद श्रेष्ठ एवं युवा व्यवसायी ओस्कार श्रेष्ठले म्याग्दीको सम्भावनाका विषय प्रस्तुत गर्नुभएको थियो। श्रेष्ठले म्याग्दीमा स्काई बस, रिभर्स बन्जी, क्यानोइङ, टावर बन्जी, रक क्लाइम्बिङ लगायतको सम्भावनाबारे सम्भावनाबारे जानकारी गराएका थिए ।

यी सम्भावनालाई हेर्दै पब्लिक कम्पनीमार्फत अगाडि बढ्ने र यसबारे थप अध्ययनका लागि तत्कालै भारत पुगेर इन्जिनियरको टोली ल्याई म्याग्दीमा रहेका सम्भावित स्थलको अवलोकन गराउने योजना रहेको प्रमोद श्रेष्ठले बताए । श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्न सदरमुकाम बेनी नजिकै रहेको लभ्ली हिल, रघुगंगा गाउँपालिकामा पर्ने रुइसे, अन्नपूर्ण गाउँपालिकामा पर्ने महभीर तथा छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत मल्लाजको डाँडालाई सम्भावित स्थानका रूपमा लिइएको बताए ।

बेनी नगरपालिका–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बेनी बजार क्षेत्रभित्र नदी किनारमा पर्यटकका लागि विशेष स्थान बनाउन पहल थाल्ने बताए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पर्यटकीय क्षेत्र निर्माण र प्रवद्र्धनका लागि सबै प्रकारले सहयोग गर्न संघ तयार रहेको बताए । अन्तक्र्रियामा म्याग्दी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवन विश्वकर्माले पर्यटनको क्षेत्रमा काम गर्न ढिला भइसकेकोले जति सक्यो चाँडो काम अगाडि बढाउनुपर्ने जोड दिए ।
पर्यटक केन्द्रित दिगो पुर्वाधार निर्माणमा ध्यान केन्द्रित नहुदाँ म्याग्दीमा पर्यटन ब्यवसाय फस्टाउन सकेको छ्रैन् ।