रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण

  • ४ श्रावण २०७९, बुधबार
  • 755 पटक पढिएको

बेनी, ४ साउन । सामाजिक सुरक्षा भत्ता लिन सास्ती व्यहोर्नुपरेको जनगुनासो बढीरहेको सन्दर्भमा म्याग्दीका दुई स्थानीय तहले गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले नीतिगत निर्णय नै गरेर पालिकाको केन्द्रमा रहेको बैँक मार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता वडा र बस्ती स्तरमै पुगेर वितरण गर्ने प्रवन्ध मिलाएका हुन् ।


रघुगंगा गाउँपालिकाले वडा र बस्ती स्तरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकिङ प्रणाली मार्फत वितरण हुँदै आएका सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको थप सहजताका लागि गाउँपालिकाको समन्वयमा बैँकका कर्मचारीलाई वडा र वस्ती स्तरमै पु¥याएर वितरण गर्ने प्रवन्ध मिलाइएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिनुभयो ।


रघुगंगाका ८ वटै वडाका लाभग्राहीको प्रभु बैँकमा रहेको खातामा गत बैशाख देखि असार सम्मको सामाजिक सुरक्षा भत्ता पठाईसकिएको र भौगोलिक कठिनाइका कारण गाउँपालिकाको केन्द्रमा रहेको बैँक सम्म आएर भत्ता बुझ्न कठिनाइ भएपछि बैँकका कर्मचारीलाइृ बस्ती स्तरमा पु¥याएर वितरण गर्न थालिएको हो । गाउँ बस्तीमा पुगेर भत्ता वितरणमा हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने जनाइएको छ । रघुगंगामा कार्यतालिका नै बनाएर साउन ३ गतेदेखि वडा नम्बर ४ बाट गाउँ बस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, मंगलवार वडा नम्बर ४ दग्नामको वडा कार्यालय र दर्मिजाको शिव आधारभुत विद्यालयमा गरि दुई स्थानबाट भत्ता वितरण गर्ने काम सकिएको छ ।


त्यसैगरि साउन ४ गते वडा नम्बर १ को बाँदुक र वडा कार्यालय बेग, ५ गते वडा नम्बर ७ को चिमखोला, ७ गते वडा नम्बर ६ को कोटगाउँ र वडा कार्यालय पाखापानी, १० गते वडा नम्बर ८ कुइनेमंगलेको वडा कार्यालय, १२ गते वडा नम्बर २ को वडा कार्यालय, देउराली आधारभुत विद्यालय र सिताराम टोल र १३ गते वडा नम्बर ३ को वडा कार्यालय र मालिका देवी आधारभुत विद्यालयबाट लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर १ दोबाबाट वडामै पुगेर सामाजिक भत्ता वितरण सुरु गरेको छ । पोखरेबगरमा रहेको गरिमा विकास बैँक मार्फत बैँकिङ प्रणालीबाट वितरण हुँदै आएकोमा ज्येष्ठ नागरिक तथा अपांगता भएका नागरिकहरुहरुको सहजताको लागि बैँकका कर्मचारीले जनप्रतिनिधि र सुरक्षा निकायको रोहोवरमा वडामै पुगेर भत्ता वितरण गरेका छन् । दोबाका १२६ जना लाभग्राहीलाई वडाबाटै भत्ता वितरण भएको बैँकले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाले ८ वटै वडामा गाउँमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा वितरणको प्रवन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरेको छ । ज्येष्ठ नागरिक, दलित, अशक्त,असाहाय, विद्यवा लगायतका लाभग्राहीलाई बैँकमा आएर भत्ता लिन असहज भएकाले उहाँहरुको सम्मान र सहजताका लागि हरेक वडामै पुगेर भत्ता वितरण गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भरतकुमार पुनले बताउनुभयो ।