बागलुङ नगरले जारी ग¥यो श्वेतपत्र

  • ३१ असार २०७९, शुक्रबार
  • 647 पटक पढिएको

बागलुङ ३१ असार । बागलुङ नगरपालिकाले नगरको समग्र स्थिति झल्काउने गरी श्वेतपत्र जारी गरेको छ । नगरपालिकाद्वारा आज आयोजित श्वेतपत्र सार्वजनिकीकरण समारोहमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिकलगायत क्षेत्रको यथार्थ अवस्थाको जानकारीका लागि श्वेतपत्र सार्वजनिक गरिएको बताउनुभयो ।

समृद्ध नगरको लक्ष्य हासिलका लागि वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना तय गर्न श्वेतपत्रले आधार तयार गर्ने उहाँको भनाइ छ । नगरको यथार्थ स्थितिबारे नगरवासीलाई सुसूचित गर्नका साथै संस्थागत सुशासन कायम गर्न श्वेतपत्रले सघाउने विश्वास लिइएको छ । श्वेतपत्रको सुरुमै नगरपालिकाको आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा असहजता निम्तिएको उल्लेख छ । नगरपालिका कार्यालय अहिले तत्कालीन कृषि विकास कार्यालय, जिल्ला विकास समितिको कार्यालय, महिला तथा बालबालिका कार्यालयको भवनबाट सञ्चालित छ ।

वडा नं ३ मा रहेको नगरपालिकाको आफ्नै भवनलाई भने अपायक परेका नाममा प्रयोगविहीन अवस्थामा छाडिएको छ । १४ वडामध्ये ११ वटा वडाको आफ्नै भवन रहेको र बाँकी भाडाको घरबाट चलेको श्वेतपत्रमा उल्लेख छ । नगर विकास कोषको ऋण सहयोगमा वडा नंं ४ मा निर्माण गरिएको बसपार्क फरफराक भई हस्तान्तरण हुन नसक्दा सञ्चालनमा आउन नसेकेको नगरप्रमुख श्रेष्ठले सुनाउनुभयो । उहाँका अनुसार बसपार्क बनाउँदा ल्याएको ऋणको साँवा र ब्याजमार्फत वार्षिक रु एक २७ लाख भुक्तानी गर्नुपर्ने दायित्व नगरपालिकालाई छ ।

नगरपालिका क्षेत्रभित्र पक्की सडक ४० किमि, ग्रावेल सडक १२ किमि र कच्ची सडक २०० किमि गरी करिब २५२ किमि सडक निर्माण गरिएको श्वेतपत्रमा उल्लेख छ । पूर्वाधारतर्फ खानेपानी, सिँचाइ, पुल, ढल निकासजस्ता योजनाको प्रगति र समस्यालाई पनि श्वेतपत्रमार्फत उजागर गरिएको छ । विषयगत क्षेत्रका विवरण, मानव संशाधन, चालु आवको बजेट र कार्यक्रम कार्यान्वयनको स्थितिलाई पनि श्वेतपत्रमा समावेश गरिएको छ ।

चालु आवमा अनुमानित आन्तरिक राजश्व रु छ करोड ६८ लाख ११ हजार रहेकामा गत जेठ मसान्तसम्ममा रु चार करोड ५५ लाख १० हजार सङ्कलन भएको जनाइएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७र७८ मा स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा ३८।२५ र वित्तीय जोखिम मुल्याङ्कनमा ५६ अङ्क प्राप्त गरेको उल्लेख छ । सोही समारोहमा नगरपालिकाको ११ औँ नगरसभाबाट पारित आव २०७९र८० को नीति, कार्यक्रम, योजना र बजेट किताबसमेत सार्वजनिक गरिएको थियो । विगतमा छ महिनापछि मात्र बजेटको किताब ल्याउने गरिएकामा यसपालि आर्थिक वर्ष सुरु नहुँदै सार्वजनिक गरिएको नगरपालिकाले जनाएको छ ।