बेनी–दरबाङ सडकमा कालोपत्रे भएको सडकको भाडा समायोजन

  • ३१ असार २०७९, शुक्रबार
  • 772 पटक पढिएको

म्याग्दी ३१ असार । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो ।


कालोपत्रे भएको खण्डमा साविकको भाडामा पचास प्रतिशत भाडा घटाउने र कच्ची सडकमा साविक बमोजिमकै भाडा कायम गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकले समायोजन सहितको भाडादर यातायात व्यवसायिहरुले तत्काल जिल्ला प्रशासन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पेश गर्ने र साउन १ गतेदेखि लागू गर्ने निर्णय समेत गरेको छ ।


जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडक अन्तर्गत बेनी देखि मंगला गाउँपालिका २ सिमचोकसम्मको करिब १२ किलोमिटर बढी सडक कालोपत्रे भएको छ । सडक कालोपत्रे भएपनि सार्वजनिक यातायातमा पुरानै भाडाशुल्क असुल हुँदै आएकोमा चौतर्फि विरोध र आलोचना भएपछि भाडादर समायोजन गरिएको हो ।
जिल्ला स्थित सरोकारवाला र यातायात व्यवसायिहरु समेत सहभागी उक्त बैठकले बेनी–दरबाङ सडकको सिमसम्म कालोपत्रे भएको सिमदेखि दरबाङसम्मको कालोपत्रेको लागि योजना सञ्चालन भैरहेको अबस्थामा बेनीदेखि दरबाङसम्मको २४ किलोमिटर सडकलाई स्थायी रुट कायम गर्न गण्डकी प्रदेश र संघ सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यसैगरि जिल्लाभित्र र जिल्लाबाट बाहिर सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले महिला, अशक्त, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक लगायतका बर्गलाई छुट्याउनुपर्ने आरक्षण र भाडामा छुटको व्यवस्थालाई अनिवार्य कार्यान्वयन गराउने निर्णय समेत गरिएको छ । बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रहरी नायब उपरिक्षक तिलक भारती लगायत ट्राफिक प्रहरी, पूर्वाधार कार्यालयका प्रमुख तथा यातायात व्यवसायि कम्पनीहरुका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।