स्वाउली बजारमा कस्ले खोल्यो क्रसर उद्योग !

  • २८ असार २०७९, मंगलवार
  • 655 पटक पढिएको

म्याग्दी २८ असार । बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजार स्थित कालिगण्डकी नदी किनारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता नभएको बताइएको छ ।
रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताउनुभयो । आबश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर सञ्चालन गरेको भेटिएको र अनुगमनमा जाँदा त्यहाँ काम गरिरहेका व्यक्तिहरु भागेको उहाँले बताउनुभयो ।
सो क्रसरको विषयमा अनुगमन र छानबिन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । स्थानीयवासीका अनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि र सरोकारवाला स्थानीय तह निर्वाचनमा केन्द्रित भएको मौका छोपेर गत वैशाख महिनामा क्रसर उद्योग स्थापना भएको थियो ।
केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालको अनुमति दिएको छैन् । सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खननमा रोक लगाएको छ । विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भए पनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।
कालीगण्डकी नदी किनारका निजी जग्गामा क्रसर उद्योगका संरचना बनाउन थालेपछि स्थानीयवासीले विरोध जनाउँदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका थिए । प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले अनुगमन र निगरानी गरेपछि त्यसबेला क्रसर स्थापना हुन सकेको थिएन् । रासस तस्वीर अमृत भण्डारीको फेसबुकबाट