छोरीले ३ स्वर्ण जितेपछि आमा खुसी

  • २२ असार २०७९, बुधबार
  • 977 पटक पढिएको

 

म्याग्दी, २२ असार । मनकुमारी परियार–नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिइन्। उनले सोचिनकी अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?

जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन् त्यसपछि छाँगाबाट खसे झैँ भइन् उनी । कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए । दोधारमा परिन् मनकुमारी । जाउ कहाँ जाउ ? गुहार मागू कसलाई ? भएन भनेर कोखका सन्तान जन्मने प्रक्रियामा थियो । मनकुमारीले अठोट गर्नुभयो जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ ।

त्यसपछि सुरु भयो उनको सघर्षको कथा । के गरिनन् उनले ? संजोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहर सङ्कलन गर्ने काम पाइन् मनकुमारीले । घिन मानिनन्, अल्छी गरिनन् काममा । सबैलाई मीठो बोली र कामले लोभ्याइन् । एकातिर काखमा बच्चा अर्कोतिर कामको चटारो हरेस नखाइकन निरन्तर काममा लागिन्। छोरीको जन्म भयो । नाम राखिन् सुष्मा परियार ।

हो, यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्यपदक जितेर सबैलाई चकित तुल्याएकी छिन् । उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र ४०० मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल भएकी हुन् । अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छिन् ।
सुष्मा त्यसै सफल भएकी होइन । उनको सफलतामा आमा मन कुमारीको ठूलो हात छ । एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था । ‘दशौँ वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो । अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरेर दैनिक गुजारा चलाइरहेकी छु । महिनाभरिको कमाइले के घर भाडा तिर्ने ? के हातमुख जोर्ने ?,’ गहभरि आँसु झार्दै मनकुमारीले भनिन्, ‘कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ । कैयौँपटक कापी, कलम किन्ने पैसा भएन । यसले कहिल्यै गुनासो गरिनन् । अचानक अमिसाले फोन गरेर सुष्माले जितिन् भन्दा भुइँमा खुट्टा रहेन । दौडेर मञ्चमा पुगे । छोरी र साथीहरुलाई बधाई दिएँ आज यसको सफलताले सबै दुःख बिर्सिएको छु । सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु, आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउनेछ।’

‘गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा आँखामा परेका थिइन् सुष्मा । राष्ट्रपति कप हुने भन्ने बित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाँच्यो । नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्,’ प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले भने।
यस्तै विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले सुष्माको अहिलेको प्रदर्शनले खुसी बनाएको बताए । उनले भने ‘सुष्माको प्रदर्शनले हामी खुसी छौं । विद्यालयको नाम राखेकी छन् । विद्यालयले गर्नुपर्ने सहयोगमा हामी कमी हुन दिने छैनौँ।’

‘सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ । विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ । यही सपना बोकेर पोखरा जानेछु । आमाको सपना पूरा गर्नेछु । मेरा पदक आमाबुबालाई समर्पण छ ।’ खुसी व्यक्त गर्दै सुष्माले भनिन् ।
अहिले सिङ्गो समाज सुष्माको अभिभावक बनेको छ । सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताए ।

प्रदेशस्तरीय खेलमा म्याग्दीबाट ९३ खेलाडी छनोट

म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न सातौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताबाट गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपका लागि म्याग्दीबाट विभिन्न विधामा गरी ९३ खेलाडी छनोट भएका छन् ।

मंगलबार सम्पन्न भएको प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कबडी मार्सलआर्ट विधाका खेलाडी छनोट गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । ‘जिल्लाबाट विभिन्न विधामा गरी ९३ जना खेलाडी छनोट भएका छन्, प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने प्रयास गर्छौं’, अध्यक्ष केसीले भन्नुभयो ।

अध्यक्ष केसीका अनुसार जिल्लाभर समग्रमा बेनी नगरपालिका प्रथम भएको छ । स्थानीय तहबाट सहभागी विद्यालयस्तरको स्वर्णसहितको पदक आज वितरण गरिएको छ । असार २३ र २४ गते प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने खेलाडी छनोट गर्न जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरिएको थियो । छनोट भएका खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगिताका लागि आजै पोखरा जाँदैछन् ।