दरबाङ बजारमा नदी नियन्त्रण योजना निर्माण

  • २२ असार २०७९, बुधबार
  • 673 पटक पढिएको

म्याग्दी, २२ असार । कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको हो । मालिकाले दुई खण्डमा रु एक करोडभन्दा बढीको लागतमा पक्की पर्खाल निर्माण भएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले दुईवटै खण्डको पर्खाल निर्माणको काम सकिएको जानकारी दिनुभयो ।

“निर्माण व्यवसायीले पर्खाल निर्माणको काम सकिएको प्रतिवेदनसहित भुक्तानीका लागि बिल पेश गरेका छन्”, उहाँले भन्नुभयो, “प्रयोगशालामा पठाइएको पर्खाल निर्माणमा प्रयोग भएका सामग्रीको परीक्षण प्रतिवेदनको प्रतिक्षा र मूल्याङ्कनको चरणमा छौँ ।” बयालीस मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न आर्थिक वर्ष २०७७÷७८ मा हिमालयन बिल्डर्स एण्ड कन्ट्रक्शनले रु ५६ लाखमा ठेक्का लिएको थियो । चालु आव २०७८÷७९ मा कार्यशक्ति कन्ट्रक्शनले ५६ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल बनाउन रु ६४ लाखमा ठेक्का लिएको थियो । मालिका गाउँपालिकाका इञ्जीनियर नमोनारायण ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा रु ८० लाख र चालु आर्थिक वर्षमा रु एक करोड विनियोजन भएकामा प्रतिस्पर्धाका क्रममा कम कबोलेका हिमालयन र कार्यशक्तिले ठेक्का पाएका हुन् ।

हिमालयन बिल्डर्सले गत जेठ २१ गते पर्खाल ढलानका क्रममा तोकिएको र सम्झौताअनुसारको निर्माण सामग्री प्रयोग नगरेको भेटिएपछि भत्काएर पुनः बनाउन लगाइएको थियो । यसपालि गाउँपालिकाबाहेक प्रदेश सरकारमार्फत पनि १० मिटर थप पक्की पर्खाल निर्माण भएको छ । गत वर्ष निर्माणाधीन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो । करिब ३०० घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ । विसं २०७६ सम्म हिउँदमा ग्याबियन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो । विसं २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको मालिका–६ का निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो ।

सो वर्ष नदी किनारमा ४५ मिटर लामो, सात मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण गरिएको थियो । मालिकाले रु ५५ लाख र सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको सिफारिसमा तत्कालीन स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रु २५ लाख बजेटमा उपभोक्ता समितिले पक्की पर्खाल बनाएका थिए । स्थानीयवासी श्रीदत्त गौतमले नदी किनारमा पक्की पर्खाल निर्माण भएपछि दरवाङ बजारवासीले सुरक्षित महसुस गरेका बताउनुभयो ।