हिलाम्मे सडकमा धान रोपाई गरेर विरोध

  • १३ असार २०७९, सोमबार
  • 1012 पटक पढिएको

म्याग्दी, १३ असार । बेनी दरबाङ सडक अन्र्तगत लाम्पाटा – दरबाङ सडक खण्ड निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध जनाएका छन् ।

निर्माणधिन सडक ठेकेदारले अलपत्र पारेपछि सडक हिलाम्मे हुने र पैदल हिड्न समेत असहज भएपछि स्थानीयहरुले सोमबार हिलाम्मे सडकमा धान रोपेर विरोध जनाएको स्थानीय युवा श्रीराम पौडेलले जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीसँग मगंला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेको बिरुवा–क्याराभान जेभी तिनमहिनादेखि सम्पर्कविहीन अवस्थामा रहेको छ ।

विसं २०७६ जेठ ३१ गते २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता भएको आयोजना २०७८ जेठमा निर्माण सक्नुपर्ने समयसीमा तोकिएको थियो ।