जिसस म्याग्दीमा एमालेको प्यानल विजयी

  • ५ असार २०७९, आईतवार
  • 599 पटक पढिएको

म्याग्दी ५ असार । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी विजयी हुनुभएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

यसैगरी नेपाली काँग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार मनकुमारी विश्वकर्मा र उपप्रमुखका उम्मेदवार सोहन श्रेष्ठले ५ मत प्राप्त गर्नुभयो । गठबन्धनले अन्य जिसस सदस्यहरुमा मनोनयन दर्ता नगरेकाले एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

एमालेको तर्फबाट प्रमुख पदमा निर्वाचित थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी उपप्रमुख पदको उम्मेदवार खत्री मंगला गाउँपालिका १ कुुहुँबाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो । निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी),श्रीप्रसाद गर्बुजा (धबलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता वि.क (मंगला) गौमति चपाई (मालिका) धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा निर्विरोध चयन मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचित प्रमुख,उपप्रमुख र सदस्यहरुको सोमबार सपथग्रहणका साथै पदभारग्रहणको कार्यक्रम राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मतभार रहेको थियो । एमालेको ७ मत, काँग्रेस ३ र माओवादीको २ मतभार छ ।