बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा कँडेल सर्वसम्मत

  • ४ असार २०७९, शनिबार
  • 767 पटक पढिएको

बागलुङ, ४ असार । बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । संघको १८ औँ अधिवेशनबाट निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । अरु पदमा यस अगाडि नै सर्वसम्मत भएको थियो ।

कँडेल नेपाल पत्रकार महासंघ बागलुङ शाखाका समेत अध्यक्ष हुनुहुन्छ । उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवार दिनुपूर्व उहाँले महासंघका उपाध्यक्ष नविन शिशिर विकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो । उधोग बाणिज्य संघको १८ औं अधिवेशनबाट नयाँ नेतृत्वको लागि नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासु र संघका वर्तमान महासचिव नरेश कँडेलविच प्रतिस्पर्धा हुने भएपछि आज मतदानको कार्यक्रम थियो । मतदान हुनुपूर्व नै सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

बागलुङका राजनैतिक दलहरु नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीले उधोग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा निर्माण कुमार श्रेष्ठ वासुलाई मतदान गर्ने निर्णय गरेका थिए । दलहरुले समर्थन दिएका उम्मेदवारले नै फिर्ता लिएपछि कँडेल सर्वसम्मत हुनुभयो । उम्मेदवार दिएका दुवै श्रेष्ठ र कँडेल नेपाली कांग्रेस निकट हुन् । श्रेष्ठलाई समर्थन गरेका दलहरु आश्चार्यचकित भएका छन् ।