म्याग्दीका स्थानीय तह बजेट निर्माणमा जुटे

  • २ असार २०७९, बिहीबार
  • 591 पटक पढिएको

कमल खत्री
बेनी, २ असार । म्याग्दीका स्थानीय तह आगामी आर्थिक बर्ष २०७९/८० लागि बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छन् । संघीय संरचनामा दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमा भर्खर मात्रै वडा र पालिकाको नेतृत्व सम्हालेका जनप्रतिनिधिहरुले आफ्नो पाँच बर्षे कार्यकालको विकासको खाका यसै बर्षको नीति तथा कार्यक्रम र बजेटबाट कोर्नेछन् । पाँच बर्षे कार्यकालको सूरुवातको गाउँ/नगर अधिवेशन भएकाले पनि कस्तो खालको नीति तथा कार्यक्रम र बजेट ल्याउँछन ? भनेर आम चासोको साथ हेरिएको छ ।


बेनी नगरपाकिालले असार १० गते नगरसभा गर्ने तयारी गरेको छ । नगरपालिकाले आगामी आर्थिक बर्षका लागि रु ७१ करोड १३ लाख बराबरको बजेट ल्याउने गृहकार्य गरिरहेको छ । संघ र प्रदेश सरकारले पठाएको अनुदानमा नगरपालिकाको अनुमानित आम्दानीलाई समेत जोडेर बजेट निर्माणको तयारीमा जुटेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो ।

नगरपालिकाले बजेटको सिमा निर्धारण गरि वडा र बिषयगत समितिहरु मर्फत योजना छनौट सुरु गरेको छ । वडा नम्बर ७ र ८ लाई रु ५०/५० लाख, वडा नम्बर १, ४, ६ र १० लाई रु ५५÷५५ लाख र वडा नम्बर २, ३ र ९ लाई रु ६०/६० लाख बजेटको सिमा तोकिएको छ । त्यसैगरि आर्थिक विकास समितिलाई रु २ करोड, सामाजिक विकास समितिलाई रु २ करोड ८० लाख, पूर्वाधार निर्माण समितिलाई रु ४ करोड २० लाख, सुशासन तथा संस्थागत विकास समितिलाई रु ६५ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापन समितिलाई रु ८५ लाख बजेटका सिमा तोकिएको छ ।

वडालाई तोकिएको सिमाबाट वडा स्तरीय र बिषयगत समितिलाई निर्धारण गरिएको बजेटको सिमामा रहेर नगर स्तरीय योजना छनौट गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । बेनी नगरपालिकामा ४ गतेभित्र वडा, ६ गतेभित्र बिषयगत समिति अन्तरगतका योजना छनौट सक्ने र ८ गतेको कार्यपालिका बैठक मार्फत स्विकृत गरि १० गतेको नगरसभामा पेश गर्ने तयारी गरिएको छ । नगरभित्र भुगोल र जनसंख्याको आधारमा बजेटको सिमा निर्धारण भएको र टुक्रे योजनालाई हटाउने नीतिलाई प्राथमिकता दिईएको नगरपालिकाका मेयर सुरत केसीले बताउनुभयो । उहाँका अनुसार, नगरपालिकामा वडा स्तरका योजना रु ३ लाख र नगर स्तरका योजनामा रु ५ लाख भन्दा कम बजेटका हुनेछैनन् । बजेटमा बेनी–पात्लेखेत सडक, खुला मञ्च, नगरबाट वडा कार्यालय जोड्ने बेनी–पुलाचौर, बेनी–भकिम्ली र बेनी–भकुण्डे सडकलाई प्राथमिकता दिएर योजना तर्जुमा गरिने जनाइएको छ । त्यसैगरि सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासका लागि सुझाब दिन गठित कार्यदलको सिफारिस बमोजिम शिक्षा क्षेत्रमा नगरपालिकाले बिशेष सम्बोधन गर्ने तयारी गरिएको छ ।

रघुगंगा गाउँपालिकाले भौतिक पूर्वाधार संगै सशक्तिकरण र रोजगार सिर्जनाहुने क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माणको तयारी गरेको छ । दोस्रो कार्यकालको लागि गाउँपालिकाको अध्यक्ष पदमा दोहोरिनुभएका भबबहादुर भण्डारीले पहिलो कार्यकालमा भौतिक विकासको आधार तयार भएको बताउँदै यस बर्षदेखि नयाँ ढंगले नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न लागिएको बताउनुभयो । रघुगंगामा वडा स्तरका योजनालाई घटाइएको छ । वडा नम्बर २ र ३ लाई २५ /२५ लाख, वडा नम्बर ६ र ८ लाई २२/२२ लाख र अन्य सबै वडालाई २०/२० लाखको बजेटको सिमा दिइएको छ । वडा स्तरका योजनाका लागि रु १ करोड ७४ लाख बजेटको सिमात निर्धारण भएको गाउँपालिकाले जनाएको छ ।

पूर्वाधार निर्माण संगै शसक्तिकरण, शिपमुलक तालिम, रोजगार सिर्जन ागर्ने क्षेत्र, पशुपालन र कृर्षिमा उत्पे्ररित गर्ने कार्यक्रमलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट आउने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । ४ गतेभित्र वडा स्तरीय योजना छनौट सकेर ५ गते बिषयगत समितिको योजना छनौट गरि ९ गतेभित्र गाउँसभा गर्ने तयारी गरेको रघुगंगाले सामाजिक सुरक्षा भत्ता सहित रु ५० करोड बढीको बजेट ल्याउने तयारी गरेको छ ।
मंगला गाउँपालिकाले असार १० गते गाउँसभा मार्फत नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । अहिले वडा स्तरमा बजेटको सिमा निर्धारण गरि पठाइएको र वडाबाट आएपछि बिषयगत समिति मार्फत पालिका स्तरका योजनाको टुंगो लगाइने प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताउनुभयो । मंगलामा वडा १ लाई रु ६५ लाख, वडा २ लाई ८५लाख, वडा ३ लाई ५० लाख, वडा ४ लाई ३२ लाख र वडा ५ लाई ७५ लाखको बजेटको सिमा निर्धारण गरिएको छ । भुगोल र जनसंख्यालाई आधार बनाएर वडा स्तरीय योजनाका लागि बजेटको सिमा निर्धारण गरिएको बताइएपनि वडा ३ र ४ का स्थानीयबासीले भने बजेट सिमामा विभेद गरिएको भन्दै विरोध समेत जनाएका छन् । मंगलामा रु ४१ करोडको हाराहारीमा बजेट ल्याउने तयारी छ ।

अन्नपूर्ण गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । पहिलो चरणमा वडा स्तरका योजनाका लागि रु ४ करोड ८० लाल बराबरको बजेटको सिमा तोकेर वडा स्तरमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत सुरण प्रसाद शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार, वडा नम्बर १ र २ लाई रु ५५/५५ लाख, वडा ३, ४, ७ र ८ लाई ६०÷६० लाख, वडा ५ र ६ लाई ६५÷६५ लाख बजेटको सिमा तोकिएको छ । वडा स्तरीय योजना टुंगीएपछि बिषयगत समिति मार्फत पालिका स्तरीय योजनाको टुंगो लगाएर कार्यपालिकाबाट अनुमोदन भएर गाउँसभामा पेश गर्ने तयारी छ । मालिका गाउँपालिकाले रु ४५ करोड बराबरको बजेट ल्याउने गरि गृहकार्य थालेको छ । ७ वटा वडाहरुलाई कम्तीमा ५२ लाख देखि बढीमा ६५ लाखसम्मको सिमा निर्धारण गरि वडा स्तरका योजनाका लागि रु ४ करोड बजेट छुटाइएको प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । गाउँसभाको मिति कार्यपालिका बैठक मार्फत टुंगो लगाइने उहाँले बताउनुभयो । धवलागिरि गाउँपालिकाले समेत आन्तरिक रुपमा बजेट निर्माणको तयारीलाई तिब्रता दिएको छ । विभिन्न समितिहरुको बैठक बसेर तयारीलाई अगाडी बढाइएको र वडा र बिषयगत समितिहरुलाई बजेटको सिमा कार्यपालिका बैठकपछि मात्रै निर्धारण हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।